काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ । 

दुवै बैंकले बिहीबार दिउँसो राजधानीको एक होटलमा आयोजित समारोहका बीच मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

एनएमबी र ओम बैंक ८० : १०० को सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । यो आन्तरिक सहमति औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । डिडिए रिपोर्टबाट ८०ः१०० को सेयर स्वाप अनुपातमा १० अंकसम्मको तलमाथि भए त्यसलाई स्वीकार्ने दुवै बैंकको आन्तरिक सहमति छ । 

मर्जर सम्बन्धी सम्झौतापत्रमा एनएमबी बैंकको तर्फबाट संचालक प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंकको तर्फबाट संचालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका छन्  ।

मर्जर सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले २ महिनाभित्रमा मर्जर सकी एकीकृत कारोबार गर्ने लक्ष्यका साथ काम अगाडि बढ्ने घोषणा गरे । ‘राष्ट्रबैंकलाई समेत हामीले प्रक्रियागत सहयोगका लागि आग्रह गरेका छौ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।’ केसीले भने–‘दुई महिनाभित्र मर्जर सकेर हामी छिटो संभव भएको मर्जरको इतिहास समेत रच्न चाहन्छौ ।’ 

प्राइम कमर्सियल बैंकसँग भदौ ३ गते एक्वायरको सम्झौता गरेको ओम डेभलपमेन्ट बैंक सो प्रक्रिया टुटेपछि एनएमबीसँग मर्ज हुन तयार भएको हो ।

मर्जर सम्झौता समारोहमा ओम बैंकका संचालकहरुले प्राइमभन्दा अगाडि नै एनएमबीसँग मर्जरको कुरा भए पनि त्यसबेला केही प्राविधिक कठिनाईले संभव नभएको विगत कोट्याएका थिए । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले भनेका थिए–‘यो पनि जुर्नुपर्ने रहेछ । हामीलाई एनएमबीसँगै मर्ज हुन जुरेको रहेछ ।’

पहिला एनएमबी बैंकको वैदेशिक रणनीतिक साझेदार एफएमओ ओमलाई लिने विषयमा लचक थिएन, तर अहिले लचक बनेपछि प्राइमसँग मर्जर तोडिएलगत्तै एनएमबीसँग ओमको सम्झौता संभव भएको सो क्रममा बताइएको थियो ।   

मर्जर सम्झौता समारोहमा ओम डेभलपमेन्ट बैंकका अध्यक्ष लगायतका अधिकारीहरुले प्राइमसँग जस्तो एनएमबीसँगको मर्जर नटुट्ने र मर्जर टुट्ने कारक मानिएका विषयहरुमा एमओयू हुनुअघि नै मोटामोटी सहमति भइसकेकोले २ महिनाभित्र सबै कुरा टुंगिने दाबी गरेका थिए । 

मर्जरपछिको बैंक कस्तो बन्ला ?
‘क’ वर्गका बैंकमध्ये पृथक पहिचान बनाएको एनएमबी र ‘ख’ वर्गका बैंकहरुमा समेत पृथक पहिचान नै बनाएको ओम डेभलपमेन्ट बैंकबीचको मर्जरलाई समग्र उद्योगले चासोको साथ हेरिरहेको छ । 

यी दुई बैंक मिलेर बन्ने एकीकृत संस्था निकै मजबुत हुने र अझ पृथक बन्ने दुवै बैंकका अधिकारीहरुले दाबी गरेका छन् । ‘हामी अब मनाङ र मुस्ताङ जस्ता क्षेत्रमा पनि पुग्नेछौ ।’ एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले भने–‘ओमसँग मर्ज भएपछि हाम्रो प्रदेश–४ को उपस्थिति बलियो हुन्छ । अब हामी ७ नम्बर प्रदेशमा कमजोर छौ, त्यसका लागि पनि केही न केही रणनीति बनाएर अगाडि बढ्नेछौ ।’ 

दुई बैंक एक भएपछि बन्ने संस्थाको शाखा संख्या १६३ पुग्नेछ भने ५ वटा एक्सटेन्सन काउण्टर र १२० वटा एटीएमको सञ्जाल हुनेछ ।

मर्जर पश्चात बैंकको कुल पूँजी तथा जगेडाकोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जाको आकार क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्बको उचाईमा पुग्नेछ । 

हाल एनएमबी बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ८० प्रतिशत भयो भने ओमको पूँजी घटेर २ अर्बको हाराहारीमा आउनेछ । यसरी दुई संस्था मर्ज भई बन्ने एकीकृत संस्थाको चुक्तापूँजी ११ अर्ब ६१ करोड माथि हुनेछ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार एनएमबी बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २२.८९ रुपैयाँ र ओम डेभलपमेन्ट बैंकको १८.४१ रुपैयाँ रहेको छ । 

दुवै संस्था खराब कर्जाको अनुपात अत्यन्त कम कामय गरेका बैंकहरु हुन् । तेश्रो त्रैमासको रिपोर्टअनुसार एनएमबी बैंकमा यस्तो कर्जाको अनुपात ०.७९ प्रतिशत र ओममा ०.९५ प्रतिशत छ । न्यून खराब कर्जा भएका संस्था गाभिन लागेकाले एपेक्सका कारण एनसीसीलाई अप्ठ्यारो परेजस्तो परिस्थिति यहाँ सिर्जना नहुने देखिन्छ । 

दोश्रो बजारमा एनएमबी बैंकको सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३८२ रुपैयाँ रहेको छ भने ओमको प्रतिकित्ता १९७ रुपैयाँ रहेको छ । 
मर्जरपछि बन्ने एकीकृत संस्थाको नाम ‘एनएमबी बैंक’ नै हुनेछ । 

मर्जर सम्झौताको भिडियो हेर्नुहोस्: