काठमाण्डौ । दुई विकास बैंकलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले अधिकांश वित्तीय सूचकमा आकर्षक सुधार गरेको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो खुद नाफा अघिल्लो यो अवधिको तुलनासम्म ३१.१९ प्रतिशत बढी हो। बैंकले समीक्षा अवधिमा गत वर्ष यही अवधिको तुलनामा १ अर्ब ४७ करोड रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष यही अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। 

बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। 

समीक्षा अवधिमा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ११७.१८ प्रतिशतले बढेको छ। यसअवधिमा बैंकको रिजर्भमा ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। 

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९.३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ। त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात (ईपीएस) १३.०२ गुणा रहेको छ।

बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा दर ०.९७ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा बैंकको यो दर १.५८ प्रतिशत रहेको थियो। 

त्यस्तै बैंकको कष्ट अफ फण्ड ८.०३ प्रतिशत र आधार दर ९.८५ प्रतिशत रहेको छ। 

बैंकले गत वर्ष भदौमा कन्काई विकास बैंक र फागुनमा कैलाश विकास बैंकलाई प्राप्ति गरेको थियो।