काठमाण्डौ । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बीमा शुल्क १ अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ। 

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बीमा शुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो।

गत असोजसम्ममा कम्पनीको जीवन बीमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बीमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँबराबर थियो। जीवन बीमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो।  

कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो। कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो। 

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ। यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो वर्षको भन्दा २ करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो। 

कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ। 

उत्साहजनक प्रगति हासिल गरिरहेको यो कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रिइन्स्योरेन्स कम्पनी ह्यानोभर रीसँग गराएको छ।