काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १५ प्रतिशत बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्राइम बैंकको प्रतिकित्ता ४०७ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४६८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

बैंकले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर बैंकले यही पुस २९ गते डाकेको १३ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले आज पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।