काठमाण्डौ । प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानी स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ। 

यसरी  एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाइफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ। हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ। 

यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना  लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुने विश्वास गरिएको छ। 

प्राइम लाइफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन  हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भइसकेका छन्।

एनपीआई नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ। जसमा हाल ६१ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ५१ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।  

प्राइम लाइफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक समुहहरूद्वारा प्रवद्र्धित कम्पनी हो। १३ वर्षभन्दा बढीको सञ्चालन अवधिमा प्राइम लाइफले इन्स्युरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ।