काठमाण्डौ । प्राप्ति प्रक्रिया अनुमोदन गर्न सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स लिमिटेडले एकैदिन विशेष वार्षिक साधारणसभा डाकेका छन्। 

हिजो जेठ ११ गते सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज दुवैले एक सूचना जारी गर्दै आउँदो जेठ २७ गते विशेष वार्षिक साधारणसभा डाकेका हुन्। सिटिजन्सको सभा काठमाण्डौको दरबारमार्गस्थित प्रधान कार्यालयमा र सिर्जना फाइनान्सको सभा विराटनगरको कलेज रोडस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ९ बजेबाट सुरु हुनेछ। 

दुवै सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त डीडीएस रिपोर्ट र सेयर स्वाप रेसियो अनुमोदन गर्नेछ। सहमतिअनुसार सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन्।

यसका साथै प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कामकारबाही पनि दुवै सभाले पारित गर्नेछ। यसैगरी सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको चुक्तापुँजी ११ अर्ब ६६ करोड २९ लाख ४० हजार ९१२ रुपैयाँबाट वृद्धि भई १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार ११४ रुपैयाँ हुने भएकोले सोहीअनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले पारित गर्नेछ। 

दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। 

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी चालु आर्थिक वर्षभित्रै संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ। 

२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ। हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन्। बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुग्नेछ।

आ-आफ्नो विशेषरसाधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ।