– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको  थियो। यी ३ दिनमा बजारमा ४४ अर्ब रुपैयाँबराबरको कारोबार भएको देखिन्छ। 

यो साता पनि कारोबारको पहिलो दिन आइतबार बजारमा भारी करेक्सन आयो। तर साढे १५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। यसले बजार मजबुत नै रहेको संकेत गर्छ। 

सेयर बजार सधैँ बढ्याबढै पनि गर्दैन र घट्याघटै पनि गर्दैन। सामान्यतया बजार ६०० अंकले बढेपछि त्यसको ३८ प्रतिशतसम्म अर्थात लगभग २५० अंकसम्म करेक्सन बजारले खोजेको हुन्छ। किनकि बजार बढ्दै जाँदा बेच्नेको जमात धेरै हुन थालेपछि र धेरै मान्छेलाई अब बजार धेरै बढ्यो भन्ने भएपछि बिक्रीचाप आउने हो। प्राविधिक रुपमा पनि बजार जति तल आउँछ फेरि त्यति नै माथि जाने आधार बन्छ। जस्तो उदाहरणका लागि हामीले लिने फिवोनासी एक्सटेन्सन बढेको विन्दुबाट घटेको बिन्दुसम्म लाइन लिँदा कति माथिसम्म जान्छ भनेर अनुमान लगाउने हो। यो आधारमा पनि भन्न सकिन्छ कि पुनः बजार बढ्नका लागि नै घट्ने हो। 

आज हामीले प्राविधिक रुपमा बजारको आगामी यात्रालाई विभिन्न औजारका माध्यमबाट विश्लेषण गर्ने कोसिस गरेका छौँ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ र सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याउँछौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा इन्टरमिडियट डिग्रीको वेभ (५) लगभग ३२२८ को विन्दुसम्म पुगेर सकिएको सम्भावना प्रवल देखिन्छ। यदि यहीँबाट तल झर्छ भने त्यो सोही डिग्रीको ‘ए’, ‘बी’ र ‘सी’ बनाउँदै बजार लगभग २८०० को विन्दुसम्म आउन सक्छ। त्यसमा पनि वेभ ‘ए’ लगभग ३००० को विन्दु अथवा त्योभन्दा तल आएर पुनः बजार ३१०० को विन्दुसम्म फर्केर वेभ ‘बी’ बनाउन सक्छ र पुनः वेभ ‘सी’ बनाउन बजार २८०० को विन्दु वा सोभन्दा पनि केही तलसम्म आउन सक्छ। वेभ ‘सी’ कति तल आउँछ भनेर भन्नलाई वेभ ‘ए’ मा कति लामो करेक्सन हुन्छ, त्यो आधारमा मात्रै भन्न सकिन्छ।  किनकि इलिअट वेभमा वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गत अगस्ट १७ का दिन एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट कटेको छ र यो जिरो लेभलभन्दा तल आएको छ (हेर्नुहोस् रातो एरो)। यसले बजारमा  करेक्सनको सम्भावना देखिन्छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) नेगेटिभ भएका छन्। यसले बजारमा अझै केही समय करेक्सन आउन सक्ने संकेत गर्छ।

एमएसीडी लाइनका आधारमा समूहगत विश्लेषण

वाणिज्य बैंक समूह

वाणिज्य बैंकको कारोबारले बनाएको रेखाचित्रमा यो साता पनि धेरै परिवर्तन भएको छैन। एमएसीडी लाइनले सिग्नल लाइनलाई प्रस्ट रुपमा माथिबाट काटेको छ र जिरो तहभन्दा तल आएको छ। हिस्टोग्रामहरु पनि नेगेटिभ भएका छन्। हिस्टोग्रामहरु झन् लामा–लामा भएकोले बजारमा बिक्रीचाप परेको अनुमानमात्रै लगाउन सकिन्छ। यसको अर्थ हुन्छ यो सेक्टरमा बिक्रीचाप हाबी भएको छ। 

विकास बैंक समूह

यो साता विकास बैंक समूह बियारिस क्रस ओभर भइसकेको अवस्था छैन तर एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको छ। अझै हिस्टोग्रामहरु भने सकारात्मक नै छन् तर छोटा–छोटा भएकोले निकट भविष्यमा बियरिस क्रस ओभरको सम्भावना देखिन्छ। 

जलविद्युत समूह

यो साता जलविद्युतमा पनि बियरिस क्रस ओभर भएको छ। गत अगस्ट २४ का दिन बियरिस क्रस ओभर भएको छ भने हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा भएकोले बजारमा बिक्रीचाप पर्दै गएको अनुमान लगाउन सकिन्छ।

लघुवित्त समूह 

लघुवित्तमा पनि गत अगस्ट २५ का दिन बियारिस क्रस ओभर भएको छ। हिस्टोग्राम नेगेटिभ भएका छन् भने विस्तारै लामा–लामा बन्दै गएकाले बजारमा बिक्रीचापको हुँदै गएको देखिन्छ।

जीवन बीमा समूह 

जीवन बीमामा एमएसीडी लाइन बियरिस क्रस ओभर भएको छ। हिस्टोग्राम पनि नेगेटिभ भएका छन् तर केही समयमा बुलिस क्रस ओभर भएकोले र हिस्टोग्राम लामा–लामा भएकोले बिक्रीचाप नै पर्न सक्छ।

निर्जीवन बीमा समूह

यो साता निर्जीवन बीममा बुलिस क्रसओभर हुने कोसिस गरेको तर पुनः बिक्रीकर्ता हावी भएर बजार बियरिस नै भएको छ। हिस्टोग्रामा नेगेटिभ नै भएका छन्।

वित्त समूह 

यो साता पनि वित्त समूहमा अझै सिग्नल बुलिस क्रस ओभर नै भएको छ। हिस्टोग्राम सकारात्मक नै छन्। यसले यो क्षेत्रमा अझै खरिदचाप पर्न सक्ने देखिन्छ।

होटेल तथा पर्यटन समूह

यो समूहमा बियरिस क्रस ओभर भएको छ। हिस्टोग्राम नेगेटिभ भएका छन्। यसले बिक्रीचाप पर्न सक्ने देखिन्छ।

अन्य 

अन्य क्षेत्रमा पनि सिग्नल बियरिस क्रस ओभर नै रहेको छ। हिस्टोग्रामहरु विस्तारै छोटा–छोटा तथा नेगेटिभ भएका छन्।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।