– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा आधारभूत विश्लेषणजतिकै महत्वपूर्ण हुन्छ प्राविधिक पक्ष। आधारभूत पक्षले कम्पनी छनोटलाई जनाउँछ भने प्राविधिक पक्षले छानिएको कम्पनीलाई कुन समयमा कारोबार गर्ने भन्ने अवगत गर्छ। 

मान्छेका सीमित साधन र असीमित आवश्कता हुन्छन्। त्यही सीमित साधनलाई उच्चतम प्रतिफलका लागि लगाउनु नै व्यापार हो। 

सेयर बजारमा ‘समय नै पैसा’ हो। किनकि यहाँ पनि ‘अपरच्युनिटी कस्ट’ हुन्छ। अथवा आफूसँग भएको पैसा कुन स्क्रिप्टमा लगाउँदा फाइदा हुन्छ भन्ने महत्वपूर्ण हुन्छ। 

आज हामीले विभिन्न सेक्टरलाई बोलिंगर ब्यान्डमा राखेर अध्ययन गर्ने कोसिस गरेका छौँ। समग्र बजारलाई फिवोनासी रिट्रसमेन्टका आधारमा कतिसम्म बढ्न सक्छ भनेर नियाल्ने प्रयत्न पनि हामीले गरेका छौँ।

फिवोनासीको रिट्रेसमेन्टका आधारमा बजार

यो औजारअन्तर्गत बजार बढेमा १.२३ प्रतिशतको पहिलो प्रतिरोध २७३८.१६, दोस्रो १.३८ प्रतिशतको प्रतिरोध २७८८.६९ र तेस्रो १.६८ प्रतिशतको प्रतिरोध २८६० को विन्दुमा देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा समूहगत अवस्था

वाणिज्य बैंक

यो समूहलाई बोलिंगर ब्यान्डमा राखेर हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको छ भने ब्यान्ड क्रमशः साँघुरिँदै गएको  देखिन्छ। बोलिंगर ब्यान्ड फराकिलो हुन्छ भने उच्च उतारचढाव भएको बुझिन्छ र साँघुरिँदै गएमा आगामी दिनमा ब्रेक आउट हुने अथावा मूल्यमा उछाल आउने सक्ने देखिन्छ। यो ब्यान्डलाई आधार मान्दा केही समयमा यो क्षेत्रमा मूल्य बढ्नसक्ने यसले संकेत गर्छ।

विकास बैंक 

यो समूहलाई बोलिंगर ब्यान्डमा राखेर हेर्ने हो भने मूल्यरेखाले अप्पर ब्यान्डलाई ब्रेकआउट गरिसकेको देखिन्छ भने ब्यान्ड क्रमशः साँघुरिँदै गएको छ। यसले के पुष्टि गर्छ भने आगामी दिनमा यो क्षेत्रमा पनि  बढोत्तरीको सम्भवाना देखिन्छ।

जलविद्युत

यो समूहमा बोलिंगर ब्यान्डलाई हेर्दा अप्पर  ब्यान्डलाई मूल्यरेखाले छोएको तथा ह्याम्मर आकारको कालो मारुबुजु बनेको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्ड फराकिलो बनेको देखिन्छ। जसको अर्थ उच्च उतारचढाव हुन सक्छ।

निर्जीवन बीमा

यो समूहलाई बोलिंगर ब्यान्डमा राख्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर माथि गएको र लोअर ब्यान्डबीच फराकिलो दूरी बनेकोले उच्च उत्तारचढाव हुने र केही समय बजार करेक्सन तथा स्थिर हुन सक्ने देखिन्छ।

जीवन बीमा

यो समूहको बोलिंगर ब्यान्डलाई आधार मान्दा मूल्यरेखा लोअर ब्यान्ड र अप्पर ब्यान्डको बीचमा रहेको देखिन्छ तर मध्य रेखाभन्दा माथि नै छ। बोलिंगर ब्यान्ड पनि साँघुरिँदै गएको छ तर कुनै पनि बान्डलाई नछोइसकेकोले केही कारोबारपछि मात्रै स्पष्ट दिशा निर्धारण हुने देखिन्छ।  अथावा कम्पनीवाइज बिश्लेषण गरेर कारोबार गर्दा उत्तम हुन्छ।

नोट : प्राविधिक विश्लेषण एक औजारमात्र भएकोले यो आफैँमा पूर्ण हुँदैन। त्यसैले लगानीकर्ताले लगानी गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ।