काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गर्ने एफपीओको मूल्य १ हजार ४ रुपैयाँ तोकेको छ । 

एकसय रुपैयाँ अंकित दरको सेयर मूलयमा ९ सय ४ रुपैयाँ प्रिमियम थपेर कुल १ हजार ४ रुपैयाँ प्रतिकित्तामा एफपीओ निश्कासनको माग गर्दै प्रिमियर इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको हो । 

यो इन्स्योरेन्स कम्पनीले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो।

नेप्सेमा प्रकाशित सूचना अनुसार यो कम्पनीले प्रतिकित्ता १ हजार ४ रुपैयाँ दरमा एफपीओ निश्कासन गर्न तयार पारिएको प्रक्षेपित विवरण तथा वास्तविक विवरणमा २० प्रतिशत भन्दा बढी विचलन देखिएमा सोको कारणसहित सार्वजनिक पत्रपत्रिकामा प्रकाशित गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रिमियर इन्स्योरेन्सको सन् २०१६ डिसेम्बर २९ मा सम्पन्न २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयरको पूँजीकरण भएपछि एफपीओ जारी गर्ने मार्ग प्रशस्त गरेको थियो । 

२० प्रतिशत बोनस सेयरपछि प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी  ४४ करोड ८५ लाख पुुग्नेछ । यो कम्पनीमा संस्थापक सर्वसाधारणको सेयर अनुपात ६०ः४० प्रतिशत रहेको छ । एफपीओपछि प्रोमोटर पब्लिक सेयरहोल्डरको स्वामित्व संरचना ५१.९४ : ४८.०६ कामय हुनेछ । एफपीओपछि चुक्तापूँजी ५१ करोड ८ लाख रुपैयाँ पुुग्नेछ । जगेडा कोष बढेर ६२ करोड ८७ लाख पुुग्नेछ ।