काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले आफ्ना सेयरधनीलाई ८३.९९ प्रतिशतको बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

जेठ १७ गते बसेको यो कम्पनीको २६१ औं संचालक समितिको बैठकले २०७४\७५ को वितरणयोग्य नाफाबाट कम्पनीको चुक्तापूँजीको ७९.७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ४.२० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ४६ करोड ६० लाख बराबरको बोनस सेयर र २ करोड ४५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

संचालक समितिको यो निर्णय नियामक बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित बोनस सेयर नियामकबाट स्वीकृत भई साधारणसभाबाट पनि पारित भएको खण्डमा कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ५ करोडको उचाईमा पुग्नेछ ।