काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल दोस्रो बजारमा स्पेसल प्रि–ओपन सेसनमा कायम रहेको मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ।

बोर्डले हाल व्यवस्था रहेको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो। ‘५ प्रतिशतको व्यवस्थामा व्यापक गुनासा उठेका छन्, चलखेल भइरहेको कुरा आइरहेका छन्’, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘त्यसैले बोर्डले यो ५ प्रतिशतको व्यवस्थालाई घटाएर २ प्रतिशतमा झार्ने तयारी गरिरहेको छ। यो नयाँ व्यवस्था छिटै लागू हुन्छ।’

यद्यपि लगानीकर्ताहरुले भने प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५) हटाउनुपर्ने माग व्यापक रुपमा उठ्दै आएका छन्। प्रि–ओपन व्यापार चलखेल हुने र यसले गर्दा साना लगानीकर्ता मारमा पर्ने गरेको उनीहरुको भनाइ छ। 

प्रि–ओपन सेसन २०७५ चैत ७ गतेदेखि लागू भएको छ। यो प्रणालीअनुसार कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबारका लागि स्पेसल प्रि–ओपसन सेसनमा सहभागी हुनुपर्छ। यदि नेप्सेले तोकेको रेन्जभित्र कुनै पनि कम्पनीको पहिलोपटक सेयर किनबेच भएमा मात्र नियमित सयमका लागि कारोबार खुल्छ। 

प्रि–ओपन सेसनको १५ मिनट अवधिको कारोबारमा लगानीकर्ताले ५ प्रतिशत भाउ बढाएर र ५ प्रतिशत भाउ घटाएर सेयर खरिदको लागि राख्न पाइन्छ। एक दिनको कारोबारका लागि खरिदबिक्रीको उच्चतम भाउ र न्यूनतम भाउ निर्धारण गरेर एउटा मूल्य (कटअफ प्राइस) निर्धारण हुन्छ। 

स्पेसल प्रि–ओपन सेसनमा हालको व्यवस्थापन परिमार्जन गर्ने विषयमा नेप्से पनि सकारात्मक रहेको छ। 

नेप्से प्रमुख चन्द्रसिंह साउदले पनि यस विषयमा केही परिमार्जन गर्न नेप्सेका तर्फबाट ३ वटा सुझाव सेबोनमा पठाइएको जानकारी दिए। ‘यस विषयमा व्यापक गुनासाहरु सुन्न थालेपछि हामी ३ वटा सुझाव तयार पारेर निर्णयका लागि पठाएका छौँ’, उनले भने, ‘उताबाट प्रतिक्रिया आएको छैन।’

साउदका अनुसार आउनु प्रि–ओपन सेसनलाई छुट्टै चलाउने, यसलाई रेगुलर मार्केटमा काउन्ट नगर्ने र हाल विद्यमान सेयरमूल्यमा ५ प्रतिशत घटबढ गर्न पाइने नियमलाई परिवर्तन गर्नुपर्ने गरी ३ वटा सुझाव धितोपत्र बोर्डमा पठाइएको छ। 

यो अन्तर्राष्ट्रिय अभ्यास नै भएकोले यसलाई हटाइहाल्नुपर्ने अवस्था भने नरहेको साउदले स्पष्ट पारे।