काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको त्रैमासमा नाफा ६६.१४ प्रतिशत बढाउन सफल भएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको नाफा २१ करोड ७६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६६.१९ प्रतिशतले बढेर ५६ करोड ८१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ३४ करोड १८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ५१.७७ प्रतिशतले बढेको छ। गत वर्ष ५६ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ८५ करोड ३१ लाख रुपैयाँ भएको छ। यसले संस्थाको व्यापार आक्रामक रहेको देखाउँछ।

संस्थाले ८ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ६ अर्ब २७ करोड रुपैयाँ सापटी लिई ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाकाको रिजर्भको आकार १८.२९ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८९ करोड ७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६२ करोड ५५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) झन्डै ३३ प्रतिशतले बढेर ७७.०७ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस ५७.९८ रुपैयाँ रहेको थियो।

पीई रेसियो ३०.०४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६८.४५ रुपैयाँ रहेको छ।