काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज बिहीबार (मंसिर ४ गते) बाट पौने ४ लाख कित्ता सेयर लिलामीमा राखेको छ।

संस्थाले कुल ३ लाख ७३ हजार ३०७.५७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्न लागेको हो। यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनीसहित सर्वसाधारण लगानीकर्ता, अन्य कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

संस्थाले लिलामीमा राखेको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ९५३.३६ पैसा तोकेको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले यही मंसिर ८ गते बैंकिङ समयसम्म एनआईबीएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।