काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिसम्म १० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ३८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

दोस्रो त्रैमाससम्म संस्थाले १४ करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १० करोड २५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिसम्म १२ करोड १५ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिसम्म संस्थाले ९ अर्ब ९३ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ८ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई ८ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१४ प्रतिशतले घटेर १५ करोड २४ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १५ करोड २६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.६६ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.४० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२७.३७ रुपैयाँ रहेको छ।