काठमाण्डौ । नेपाल आयल निगमले फल्स चेम्बर बनाउने पेट्रोलियम ट्याङ्कर संचालकहरुमाथि कारबाहीको प्रक्रिया थालेको छ । 

त्यस्ता ट्याङ्कर संचालकलाई १५ लाखको दरले जरीवाना तिराउने प्रक्रिया अगाडि बढाइसकिएको र अन्य थप कारबाही पनि अगाडि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मंसिर ३ गते निगमको बागमति प्रादेशिक कार्यालय, थानकोटमा इण्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिएको २० २० हजार लिटर क्षमताको वीर बेताल आशिर्वाद कम्पनी प्रालि(संचालकहरु प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार)का नाममा रहेको २ वटा ट्याङ्कर ना ७ ख ३६९६ र ना ७ ख २९९५ लाई डिपोमा कार्यरत कर्मचारीहरुबाट खालि गरी चेकजाँच गर्दा ती ट्याङ्करमा रहेको चेम्बरको स्वीकृत मापदण्डविपरीत थप अर्को फल्स चेम्बर बनाई जडान गरेको पाइएको थियो । 

सो चेम्बरलाई बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने गरी वेल्डिङ गरी बनाइएको समेत फेला परेको छ । यो विषयमा निगमलाई सुराकी आएको र सोआधारमा निगमका कर्मचारीहरुले निरन्तर निगरानी गरी फल्स चेम्बर रहेको पत्ता लगाएका थिए । 

फल्स चेम्बर जडान भएको पुष्टि भएपछि  निगमले प्रचलित विनियमावली बमोजिम हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा करिब १५ लाख बराबरको हर्जना तिराउने कार्य अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । 

ती ट्याङ्कर संचालन गर्ने कम्पनी र त्यसको संचालकहरुलाई नियमानुसार थप कारबाहीका लागि गुणस्तर तथा नापतौल विभाग र अन्य निकायलाई समेत पत्राचार गरिसकिएको प्रवक्ता उपाध्यायले प्रष्ट्याएका छन् । 

कसरी र कति भयो चोरी ?

सामान्यतया ट्यांकरमा २० हजार लिटर इन्धन अट्ने गर्दछ । त्यसमा चार हजार लिटरका दरले पाँच वटा चेम्बर हुन्छन् । ‘ना७ख ३६९६ र ना७ख २९९५ मा तेस्रो नम्बरको चेम्बरमा दुई भाग लगाइएको पाइएको छ । एकातिरको भागमा करिब १ हजार लिटर इन्धन अट्ने देखिएको निगमले जनाएको छ । निगमले डिप हेरेर इन्धन झिक्ने हो, चेम्बर पार्टिसन गर्दा डिपमा फरक पर्दैन । त्यसको मतलव बाटोमा तेल झिक्ने काम हुँदो रहेछ भन्ने भन्ने प्रमाणित भएको निगमका एक अधिकारीले जानकारी दिए । 

एउटै ट्यांकरमा अनुमानित नौ सयदेखि एक हजार लिटरको फल्स चेम्बर पाइएको पनि ती अधिकारीले जानकारी दिए । यको अर्थ प्रत्येक ट्रिपमा ती ट्यांकरले एक हजार लिटर तेल चोरी गर्ने गरेका थिए भन्ने खुलेको छ । 

बरौनीबाट करिब दुई सय ट्यांकरले पेट्रोल ढुवानी गर्दै आएका छन् । एउटा ट्यांकरले एक महिनामा चार ट्रिप गर्छन् । यसरी हेर्दा दुई वटा ट्यांकरबाट करिब आठ हजार लिटर तेल फल्स चेम्बर बनाएर चोरी भएको प्रारम्भिक आशंका गरिएको निगमका अधिकारीहरुले बताएका छन् ।