काठमाण्डौ ।  स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले फाइभजी डेटाको मामिलामा शानदार रेकर्ड बनाएको छ।

कम्पनीले गत मार्च ३ मा ५.२३ जीबीपीएस डाउनलोडिङ स्पिड हासिल गर्न सफल भएको छ। यो एउटा सिंगल डिभाइसको डाउनलोडिङ स्पिड हो। सामसुङ कम्पनीले एउटा प्रविधिको परीक्षणको गरेको छ। जसलाई ई–युट्रान न्यु रेडियो ड्युल कनेक्टिविटी (ईएन–डिसी) को नामबाट चिन्ने गरिन्छ, जुन फोरजी र फाइभ जी नेटवर्कको कम्बिनेसन हो। यो कम्बिनेसनबाट डेटा स्पिड बढाउन सहयोग पुग्ने गर्दछ।

लाइभमिन्टको रिपोर्टका अनुसार कम्पनीले ४० मेगाहर्जको स्पिड फोरजी स्पेक्ट्रम तथा ८०० मेगाहर्जको फाइभजी मिलिमिटर वेभ स्पेक्ट्रमलाई सफलतापूर्वक कम्बाइन्ड गरेको छ। यसो गर्दा सिंगल टर्मिनल डिभाइसको डेटा स्पिड ५.२३ जीबीपीएस पुगेको कम्पनीले दाबी गरेको छ।

सामसुङले फाइभजी डेटा स्पिडको प्रदर्शनका लागि आफ्नो फल्यागसिप स्मार्टफोन, सामसुङ ग्यालेक्सी एस२० को प्रयोग गरेको थियो। जसले फोरजी र फाइभजी दुवै कनेक्टिभिटीलाई सपोर्ट गर्ने गर्दछ। 

स्मार्टफोन विशेषज्ञहरुका अनुसार सन् २०२० मा विश्वका कयौँ देशहरुमा फाइभजी नेटवर्क तीव्र गतिमा विस्तार भएको छ। – एजेन्सी