काठमाण्डौ । विकास बैंकहरुले चैतको ब्याजदरका विषयमा आउँदो सातामात्रै निर्णय गर्ने भएका छन्। 

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले आउँदो आइतबार वा सोमबार बैठक डाकेर चैतको ब्याजदरका विषयमा निर्णय गर्ने जानकारी दिएका हुन्। ‘चैतमा ब्याजदर के गर्ने भन्ने विषयमा अहिले नै छलफल भइसकेको छैन’, उनले भने, ‘ब्याजदरका विषयमा सल्लाह गरेर निर्णय लिन्छौँ।’

नेपाल बैंकर्स संघ (एनबीए)को आज बसेको बैठकले चैतमा वाणिज्य बैंकहरुले साधारण बचत र कल निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर भने स्थिर राख्ने भएका छन्। 

वाणिज्य बैंकहरुले साधारण बचत र कल निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका कारण विकास बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब पर्ने एक बैंकरले बताए। 

यसअघि वाणिज्य बैंकहरुले फागुनमा ब्याजर स्थिर राख्ने निर्णय गर्दा विकास बैंकहरुले घटाउने निर्णय गरेका थिए। विकास बैंकहरुले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाएका थिए। फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए। 

विकास बैंकहरुले माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।