काठमाण्डौ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले बहुचर्चित काठमाण्डौ तराई द्रूत मार्ग(फास्ट ट्रयाक) निर्माणको जिम्मा  नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

भविष्यमा यही ट्रयाकलाई आधार बनाएर रेल मार्ग समेत बनाउन सकिने गरी यति धेरै जग्गा अधिग्रहण गरिएको हो।

सरकारले नेपाली लगानीमै फास्ट ट्रयाक निर्माणको काम नेपाली सेनाले गर्ने गरी त्यसको कार्यविधि पेश गर्न निर्देशन समेत दिएको छ । काम सुरु गरेको चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सरकारको भनाई छ । बैठकले प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने र यो समितिमा सेनाको युद्धकार्य निर्देशनालय र इञ्जिनियरिङ महाशाखाको प्रमुख भौतिक पूर्वाधार, अर्थ र रक्षा मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

बहुचर्चित यो मार्गको ट्रयाक नेपाली सेनाले २०६९ सालमा ९० करोड बढी लगानीमा खोल्ने काम गरेको थियो । यो मार्ग अन्तरगत काठमाण्डौबाट चाल्नाखेल हुँदै निजगढ पुग्न  सकिन्छ ।

नेपाली सेनाका अनुसार ७६ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकको उपत्यकाभित्र १२ किलोमिटर पर्छ । उपत्यकाभित्रको बाहेक अरू ट्रयाक नेपाली सेनाले खोलेको हो। फास्ट ट्रयाकको अनुमानित ७६ किलोमिटर सडकमा ललितपुरमा ८ किलोमिटर, काठमाण्डौमा ४ किलोमिटर, मकवानपुरमा ५६ किलोमिटर र बारामा ८ किलोमिटर सडक पर्ने सेनाले जनाएको छ ।

पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फास्ट ट्रयाकका लागि पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा सय मिटर जग्गा अधिग्रहण गरिसकिएको जानकारी दिए । उनका अनुसार भविष्यमा यही ट्रयाकलाई आधार बनाएर रेल मार्ग समेत बनाउन सकिने गरी यति धेरै जग्गा अधिग्रहण गरिएको हो। जग्गा अधिग्रहणका लागि हालसम्म झण्डै १ अर्ब रूपैया खर्च भइसकेको छ ।