– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दूरसञ्चार कम्पनी हो। यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अन्य समूहमा राखेको छ। 

एनटीसीमा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्वसाधारणको ८.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणतर्फ भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, छोटेलाल रौनियार तथा अम्बिका पौडेल मुख्य सेयर होल्डरका रुपमा रहेका छन् भने अन्य सर्वसाधारणको पनि यो कम्पनीप्रति निकै आकर्षण भएको पाइन्छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनटीसीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४७.२८ रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ९ प्रतिशतले कम हो।

कम्पनीको रिटर्न अन इक्विटी ९.२२ प्रतिशत रहेको छ। यो  भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १०.६४ प्रतिशतले बढी हो। विगत १० वर्षमा कम्पनीले वार्षिक औसत ४७ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा एनटीसीको सेयरमूल्य हाल न्युट्रल सेन्टिमेन्टमा रहेको छ। यो भनेको कम्पनीको सेयरमूल्यमा खरिद–बिक्री सामान्य रहेको छ भन्ने हो। ५२ साताको कम्पनीको उच्च मूल्य भनेको १०६६ रुपैयाँ र न्यून मूल्य भनेको ७९८ रुपैयाँसम्म तल आएको छ। हाल दोस्रो बजारमा एनटीसीको अन्तिम कारोबार मूल्य भनेको ७९७ रुपैयाँ रहेको छ। 

बोलिंगर, म्याक्डी तथा आरएसआईका आधारमा 

एनटीसीको सेयरमूल्यलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा हाल ब्यान्डको तल्लो विन्दुमा चलेको देखिन्छ। अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी निकै कम देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा यो कम्पनीको सेयरमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्दै गरेको देखिन्छ तर काटिसकेको अवस्था भने होइन। हिस्टोग्राम नेगेटिभ भएको छ।

आरएसआईमार्फत हेर्दा गत जनवरीदेखि नै एनटीसीको  सेयरभाउ न्युट्रल जोनमा चलेको देखिन्छ। हाल यो कम्पनीको आरएसआई ३७ को तहमा रहेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा आगामी कारोबारमा अझै केही समय साइडवेज चल्न सक्ने देखिन्छ। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। एनटीसीको हालको उतारचढावका आधारमा सपोर्ट र प्रतिरोध निम्नानुसार छन्–

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ७८९
  • प्रतिरोध २– ८४८
  • प्रतिरोध ३– ७७१

पिभट प्वइन्टः  ८०८

घटेमा सपोर्ट 

  • सपोर्ट १– ७८९ 
  • सपोर्ट २– ७७१
  • सपोर्ट ३–७५२

निष्कर्ष

आधारभूत रुपमा एनटीसी एउटा बलियो कम्पनी देखिन्छ। १८ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको यो कम्पनीको जगेडा कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ करिब ५१३ रुपैयाँ रहेको छ भने दोस्रो बजारमा यो कम्पनीको अन्तिम सेयर कारोबार ८०० रुपैयाँमा रहेको देखिन्छ। यस हिसाबले नेटवर्थबराबर नै कम्पनीको सेयरभाउ आएको देखिन्छ। कम्पनीको मूल्य आम्दानी अनुपात १७ गुणा रहेको छ। यो भनेको वास्तविक खरिद मूल्य हो भन्ने बुझिन्छ। 

प्राविधिक रुपमा यो कम्पनीलाई हेर्दा अल्पकालमा अझै केही समय साइडवेज चल्न सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण रहेको हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।