काठमाण्डौ । अमेरिकी सेयर बजारमा मंगलबार भारी गिरावट आएको छ।

अमेरिकी फेडरल रिजर्भको फेरि ब्याजदर बढाउने संकेतले अमेरिकी बजारमा पहिरो गएको हो। अमेरिकी फेडले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना व्यक्त गरेको छ। 

गोल्डम्यान साक्सका अनुसार फेडरल रिजर्भले यसपटक पनि ब्याजदर ७५ आधार विन्दुले बढाउन सक्छ। यतिमात्र होइन अमेरिकामा यो वर्ष पनि कम्तीमा तीनपटक ब्याजदर बढ्न सक्ने आशंका धेरै सञ्चारमाध्यममा व्यक्त गरिएको छ। 

गत वर्ष पनि चार दशकको चरम विन्दुमा पुगेको मुद्रास्फीति घटाउन अमेरिकामा धेरैपटक ब्याजदर बढाइएको थियो।

फेडको ब्याजदर बढाउने संकेतले मंगलबारको कारोबार प्रमुख अमेरिकी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट आएको हो। डाउ जोन्स ६९७.१ अंक अर्थात् २.०६ प्रतिशतले घटेर ३३१२९.५९ मा बन्द भयो। यसबाहेक एसएन्डपी ५०० इन्डेक्स ८१.७५ अंक अर्थात २ प्रतिशतले घटेर ३९९७.३४ को स्तरमा झरेको छ। नास्डाक पनि २९४.९७ अंक अर्थात् २.५ प्रतिशतले घटेर ११४९२.३० मा बन्द भएको छ।

त्यसको प्रभाव बुधबार भारतीय सेयर बजारमा पनि देखिएको छ। बजार भारी गिरावटका साथ सुरु भएको थियो। आधा घन्टाको कारोबारमा सेन्सेक्स र निफ्टीमा भारी गिरावट आयो। सेन्सेक्स ४०० अंकभन्दा बढी ओरालो लागेको थियो। जब कि निफ्टीमा १४५ अंकको गिरावट आएको थियो। 

फेडको ब्याजदर बढाउने संकेतले एसियाली बजारमा पनि हलचल मच्चिएको छ। एसजीएक्स निफ्टीले ०.४ प्रतिशतले घटेको छ निक्की २२५ मा १.३२ प्रतिशतले गिरावट आएको छ। सांघाई कम्पोजिट पनि ०.२१ प्रतिशतले घटेको छ। –एजेन्सी