काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरो हुँदै गइरहेको छ। 

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकपछि अर्को बैंक डुब्ने खतरा बढेको छ। अमेरिकाको फर्स्ट रिपब्लिक बैंकको आर्थिक अवस्था नाजुक बनेको छ। 

फर्स्ट रिपब्लिक बैंकको सेयर शुक्रबार भारी गिरावट आएको थियो। फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले जेपी मोर्गन चेज एन्ड कम्पनी र पीएनसी फाइनान्सियल सर्भिसेज ग्रुप इंकलाई अन्तिम बोलपत्र पेस गर्न भनेको छ।

मिडिया रिपोर्टका अनुसार सान फ्रान्सिस्कोमा रहेको फर्स्ट रिपब्लिक बैंक चाँडै बिक्री पनि हुन सक्छ। यदि बैंक रिसिभरसिपमा पर्यो भने यो गत महिना एक महिनामा डुब्ने अमेरिकाको तेस्रो बैंक हुनेछ। 

फर्स्ट रिपब्लिक बैंकको सेयरभाउ शुक्रबार न्युयोर्क ट्रेडिङमा ५४ प्रतिशतले घट्यो र अमेरिकी बैंकिङ नियामकले यसलाई रिसिभरसिपमा राख्न सक्ने अनुमानमा ४३ प्रतिशतको गिरावटका साथ बन्द भए। यो वर्ष हालसम्म यो बैंकको सेयरभाउ ९७ प्रतिशतले घटिसकेको छ। 

११ बैंकहरुको समूहले मार्चमा पहिलो फरस्ट रिपब्लिकमा समाधान खोज्न समय पाउन ३० अर्ब डलर जम्मा गरेका थिए। यसमा जेपी मोर्गन चेज एन्ड कम्पनी, सिटीग्रुप, बैंक अफ अमेरिका, वेल्स फार्गो, गोल्डम्यान साक्स र मोर्गन स्टेनली समावेश थिए। 

रोयटर्स समाचारका अनुसार यसबीच अमेरिकी बैंकिङ नियामकले फर्स्ट रिपब्लिक बैंकलाई तत्काल रिसिभरसिपअन्तर्गत राख्ने तयारी गरिरहेको छ।

गत हप्ताको सुरुआतमा फर्स्ट रिपब्लिक बैंकले पहिलो त्रैमासिकमा आफ्नो निक्षेप १०० अर्ब डलरले घटेको जनाएको थियो। त्यसयता बैंकमा संकट गहिरिँदै गयो र सेयरभाउ ह्वात्तै घट्न थाल्यो। यो वर्ष मार्च ९ पछि बैंकको निक्षेपमा करिब ७० अर्ब डलरको कमी आएको छ। मार्च ९ मा बैंक निक्षेप १७३ अर्ब डलर थियो। अप्रिल २१ मा घटेर १०२.७ अर्ब डलरमा झरेको छ। 

यद्यपि क्षेत्रीय बैंक अधिकारीहरुले गत हप्ताको आम्दानी रिपोर्टमा बैंकसँग ग्राहकको आवश्यकता पूरा गर्न पर्याप्त नगद भण्डार रहेको दाबी गरेका छन्। 

ब्याजदरमा फेडरल रिजर्भको आक्रामक अडानले केही व्यवसायका लागि कठिनाइ सिर्जना गरेको छ। जसका कारण उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन्। फेडरल रिजर्भले ब्याजदरमा तीव्र वृद्धि गरेको छ। 

सिलिकन भ्याली बैंक अमेरिकामा बैंकिङ संकटको पहिलो सिकार बन्यो र त्यसपछि सिग्नेचर बैंक डुब्यो। 

युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइसलाई यूबीएसले किनेर डुब्नबाट बचाइएको थियो। 

अमेरिकाको बैंकिङ संकटले विश्व बजारलाई हल्लाएको छ। सिलिकन भ्याली बैंक डुब्दा सबैभन्दा बढी असर आईटी कम्पनीमा परेको छ।

बैंकिङ संकटका कारण आर्थिक मन्दीको डर बढेको छ। संसारभरका ठूला कम्पनीहरुमा रिट्रेन्चमेन्टको चरण चलिरहेको छ। आईटी क्षेत्रका कम्पनीहरुको त्रैमासिक नतिजा अपेक्षाभन्दा कम आएको छ। –एजेन्सी