काठमाण्डौ। विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा फेरि कोरोनाजस्तै अर्को महामारी आउन सक्ने चेतावनी दिएका छन्। 

बिल गेट्सले कोभिड–१९ बाट गम्भीर बिरामी हुने जोखिम नाटकीय रुपमा कम भएको कुरा स्वीकार पनि गरेका छन्। ‘मानिसमा यो भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढ्दै गएकाले यस्तो भएको हो’, उनले भनेका छन्। 

सीएनबीसीसँगको अन्तर्वार्तामा बिल गेट्सले भविष्यमा महामारीहरु कोरोनाभाइरस परिवारबाट फरक कीटाणुबाट आउन सक्ने बताएका छन्। ‘तर, चिकित्सा प्रविधिमा भएको प्रगतिको सहयोगले विश्वले यसलाई अझ राम्रोसँग सामना गर्न सक्छ’, उनले आशा व्यक्त गर्दै भने, ‘यद्यपि यसका लागि अहिलेदेखि नै लगानी गर्नुपर्छ।’ 

बिल गेट्सले विगत दुई वर्षदेखि कोरोना आफूहरुमाझ रहेको र यसको नराम्रो प्रभाव अहिले कम हुँदै गएको बताए।

विश्वव्यापी जनसंख्यामा केही स्तरको रोग प्रतिरोधात्मक क्षमता विकास भएकाले यस्तो भइरहेको बिल गेट्सको भनाइ छ। ‘पछिल्लो ओमिक्रोन भेरिएन्टले यसको गम्भीरता पनि कम भएको देखाएको छ’, उनले भने, ‘जब भाइरस फैलिन्छ, यसले आफ्नै प्रतिरोधात्मक क्षमता उत्पादन गर्दछ। यो बानी विश्व समुदायबाट महामारीलाई बाहिर निकाल्न भ्याक्सिनभन्दा पनि प्रभावकारी साबित भएको छ।’

हाल कोरोना संक्रमणको मामिला घट्दै गए पनि ओमिक्रोनको सब–भेरिएन्ट बीए.२ ले चिन्ता बढाएको छ। ओमिक्रोनको सब–भेरिएन्ट बीए.२ मूल भेरिएन्टभन्दा छिटो फैलिने खालको रहेको विभिन्न अध्ययनले देखाएको छ। ‘अध्ययनहरुबाट यो पनि पत्ता लागेको छ कि सब–भेरियन्ट बीए.२ डेल्टाभन्दा बढी खतरनाक हुन सक्छ। यसले कोरोनाको गम्भीर रोग निम्त्याउन सक्छ’, एपिडेमियोलोजिस्ट एरिक फ्याङले चेतावनी दिए। 

सब–भेरिएन्ट बीए.२ लाई स्टेल्थ ओमिक्रोन पनि भनिन्छ। यसबारेमा जापानी टोलीले पहिचान गरेको तीनवटा महत्वपूर्ण कुरा छन्। बीए.२ गम्भीर रोग निम्त्याउन सक्षम रहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। –एजेन्सी