काठमाण्डौ । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट फेरि एलन मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका छन्। मस्क विश्वको सबैभन्दा धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन्। केही दिनअघि पनि अर्नाल्ट छोटो समयका लागि मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका थिए। 

बर्नार्ड अर्नाल्ट १८६.५ अर्ब डलरको सम्पत्तिका साथ विश्वको सबैभन्दा धनीव्यक्ति बनेका हुन्। मस्कको नेटवर्थ १८१.३ अर्ब डलरमा झरेको छ। तर, मस्क र अर्नाल्टबीचको अन्तर धेरै छैन। दुवैको सम्पत्तिमा ५.२ अर्ब डलरको मात्र अन्तर छ।

फोब्र्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार लामो समयदेखि सबैभन्दा धनीव्यक्तिका रुपमा आफ्नो पहिचान कायम राखेका एलन मस्कको सम्पत्तिमा आएको गिरावटपछि उनी पहिलो नम्बरबाट दोस्रो स्थानमा झरेका हुन्। 

सन् २०२१ मा सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै धनीव्यक्ति बनेका थिए। उनले अमेजनका जेफ बेजोसलाई पछि पार्दै उक्त स्थान हासिल गरेका थिए। 

रिपोर्टका अनुसार त्यसबेला मस्कको कुल सम्पत्ति १८८ अर्ब डलर पुगेको थियो भने पहिलो नम्बरमा रहेको बेजोसको कुल सम्पत्ति १८७ अर्ब डलरमा झरेको थियो। अहिले जेफ बेजोस ११३.८ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा चौथो स्थानमा पुगेका छन्। उनलाई भारतीय उद्योगपति गौतम अडानीले पछाडि पारेका छन्। 

शीर्ष १० अर्बपतिको सूचीमा परेका दुवै भारतीय उद्योगपतिले आफ्नो दबदबा कायम राखेका छन्। यो समाचार लेख्दासम्म फोर्ब्सको तथ्यांकअनुसार एसियाका सबैभन्दा धनी व्यक्ति गौतम अडानी १३४.६ अर्ब डलरका साथ विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा आफ्नो उपस्थिति कायम राखेका छन्। योसँगै सूचीमा दोस्रो भारतीय उद्योगपति रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ९२.८ अर्ब डलरसहित आठौँ स्थानमा छन्।

फोर्ब्सअनुसार दिग्गज लगानीकर्ता वारेन बफेट १०८.१ अर्बए डलरको कुल सम्पत्तिका साथ शीर्ष १० अर्बपतिको सूचीमा पाँचौँ नम्बरमा छन्। बिल गेट्स १०६.५ अर्ब डलरसहित विश्वका छैटौँ, १०३.९ अर्ब डलरका साथ सातौँ नम्बरमा ल्यारी एलिसन, ८१.८ अर्ब डलरका साथ नवौँ नम्बरमा कार्लोस स्लिम हेलु र ८१.७ अर्ब डलरका साथ १०औँ नम्बरमा स्टिभ बाल्मर छन्।

अर्बपतिको सूचीमा फेरि फेरबदल भएको छ। लामो समयदेखि शीर्ष १० मा रहेका दुई दिग्गज अर्बपति अब यो सूचीबाट बाहिर छन्। ल्यारी पेज अहिले ८१.२ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ नम्बरमा छन् भने सर्गेई ब्रिन ७७.९ अर्ब डलरका साथ १२ नम्बरमा छन्। यसबाहेक फेसबुकका संस्थापक मार्क जुकरबर्ग ४१.८ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीहरुको सूचीमा २६औँ स्थानमा छन्।