काठमाण्डौ । दुईवटा ठूला लोनका कारण समस्या भोगिरहेको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी)ले ती लोन असूलीको प्रक्रियालाई तीव्रता दिएसँगै फेरि पनि नम्बर वान बैंक बन्ने रणनीति बनाएको छ । 

बैंकिङ उद्योगमा नयाँ परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा बैंकका कतिपय रणनीतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने अवस्थालाई आत्मासाथ गर्दै बैंक नेतृत्वले फेरि पनि नम्बर वानको पोजिसनमाथि कब्जा जमाउने रणनीति तयार पारेको हो । 

केही समयअघिसम्म अधिकांश वित्तीय सूचकमा यो बैंकको एकछत्र राज थियो । दुई ठूला लोनका कारण ती सूचकमध्ये केहीमा मात्र गिरावट व्यहोरेको बैंकलाई फेरि नम्बर वान बन्न धेरै पापड बेल्नुपर्ने अवस्था छैन । 

'हामीलाई पाठ सिकाएको २ वटा ठूला लोनको ढिलोचाँडो रिकभर हुन्छ ।' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेयले भनेः-'नयाँ चुनौतिको सामना गर्दै हामी फेरि पनि अगाडि बढ्ने र नम्बर वान बन्ने रणनीतिमा छौ, चाँडै यो स्थान पुनः हासिल हुनेमा हामी ढुक्क छौ ।' 

यो बैंकको चुक्तापूँजी हाल १२ अर्बको हाराहारीमा छ । रिजर्बमा समेत यस्तै हाराहारीमा रकम थुप्रिएको छ । विगत १५ वर्षभन्दा बढी समयदेखि लगातार उच्च रिटर्न दिंदै आएको बैंकको ठूला लोनमा समस्या आई ठूलै रकम प्रभिजन गर्नुपर्दा अघिल्लो वर्षको लाभांश दरमा मात्रै केही गिरावट आएको हो । यो बैंकको आफ्नै लाभांश इतिहासको तुलनामा मात्र यो वर्षको लाभांश घटेको हो । समग्र उद्योगलाई हेर्दा बैंकले दिएको लाभांश नराम्रो भने होइन । तर, यही कुरालाई नबुझेकाहरुले आफूहरुले १५ वर्ष बढी समयदेखि लगातार दिंदै आएको रिटर्नलाई बिर्सिएकोमा पाण्डेको चित्त दुखेको रहेछ ।

उनका अनुसार बैंकले फेरि पनि उत्कृष्ट बन्ने रणनीतिलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । पछिल्लो समय सरकारी स्वामित्वका बैंकहरु आक्रामक बनिरहेका र उनीहरुको फण्ड सस्तोमै आउने हुँदा त्यो निजी क्षेत्रको बैंकहरुका लागि चुनौति बनेको पाण्डे बताउँछन् । 'यी सबै चुनौतिको सामना गर्न हामी सक्षम छौ ।' उनले थपे-'हेर्दै जानुहोस्, निकै छोटो समयमा हामी फेरि नम्बर वान बन्छौ ।' 

मर्जर निर्विकल्प
बैंकका सीइओ पाण्डेले देशमा २७ वटा वाणिज्य बैंकको संख्या धेरै भएको बताए । 'बैंकको संख्या घटाउनुको अर्को विकल्प देखिन्न ।' उनले भने-'यसका लागि समेत मर्जर निर्विकल्प छ ।' 

मर्जरलाई ‘निर्विकल्प’ भनेका पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंक समेत राम्रो बैंकसँग मर्जरमा जान खोजिरहेको बताए । 'हामी राम्रो बैंकको खोजीमा छौ, ढिलोचाँडो मर्जरमा जान्छौ ।' उनले भने-'त्यसका लागि संचालकले संभावित संस्थाहरुको कुराकानी पनि गरिरहेकै होलान् ।' 

उनले मर्जरसँगै बैंकलाई ठूलो तथा स्मार्ट बनाउने र व्यवसाय बिस्तार गरी फेरि पनि सबैभन्दा राम्रो रिटर्न दिने बैंकको रुपमा पुनरस्थापित गर्ने योजना समेत सुनाए । 'हामी अहिले पनि वित्तीय सूचकहरुमा बलिया छौ । तर, नाफाको हिसाबले केही बैंक अगाडि बढिसके । यसकारण पनि अब हामी चूप लाग्नुहुन्न भन्ने मेरो निश्कर्ष हो ।' उनले भने-'यसका लागि हाम्रो टिम तयार छ । अब दौडिने हो ।' 

हिमालयन बैंकसँग मर्जर संभव छ ?
हामीले पाण्डेलाई हिमालयन बैंकसँग मर्जर हुने भनी बेला बेला चल्ने हल्लाको विषयमा समेत सोध्यौं । उनले त्यो संभावना टरिनहालेको प्रष्ट्याए ।

'यसअघि पनि संचालकको लेभलमा संभावित मर्जरको कुराकानी भएकै हो । तर, केही कारणले निश्कर्ष पाउन सकेन ।' उनले थपे-'हिमालयन बैंकमा पनि नयाँ बोर्ड आएको छ, परिस्थिति पहिला भन्दा केही भिन्न छ । आगामी दिनमा फेरि पनि मर्जरको छलफल अगाडि बढ्नसक्छ ।' 

तर, इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंक वा त्योजस्तै अन्य कुनै राम्रो संस्थासँग मर्जरमा जान चाहे पनि अन्य केही बैंक भने 'मर्जर गरिदिन पर्यो' भन्दै छलफल गर्न आएका पनि खुलाए । ३ वटा जति वाणिज्य बैंकले त हामीसँग तागेता गरेरै छलफल अगाडि बढाए, तर हाम्रो बोर्ड र हामी मर्जरमा जाँदा पनि बलियो संस्था नै रोज्नुपर्छ भन्ने पक्षमा उभियौं । उनले थपे । 

इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकमा विदेशी रणनीतिक साझेदारको रुपमा हबिबको सेयर किनेर भित्रिन लागेको सीडीसीको धारणा तथा उसलाई भित्र्याउने विषयमा निकट भविष्यमै हुनसक्ने निर्णयलाई कुरेर बसेको स्रोत दाबी गर्छ । यो विषयमा भने पाण्डेले मुख खोल्न मानेनन्।

त्यसो त इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर छलफल यसअघि पनि मिल्न सक्थ्यो । हिमालयन बैंकको यसअघिको बोर्ड अध्यक्ष मनोजबहादुर श्रेष्ठकै कारण धेरै अगाडि बढिसकेको इन्भेष्टमेन्ट बैंकसँगको मर्जर छलफलले निश्कर्ष पाउन सकेको थिएन । हिमालयन बैंकमा मनोजबहादुरको शासन अन्त भइसकेको छ । नयाँ बोर्ड निर्वाचित भइसकेको अवस्थामा यी दुई ठूला बैंकबीच मर्जरको संभावना अब अझ प्रवल बनेको दुवै बैंकस्थित स्रोतहरु बताउँछन् । 

हिमालयन बैंकले २२ मार्चमा बोर्ड बैठक बोलाएको छ । त्यो बैठकले सीडीसीको विषयमा कुनै ठोस निर्णय गर्ने स्रोतहरु बताउँछन् । यही बैठकले गर्ने निर्णय र सीडीसीको मर्जरसम्बन्धी धारणा इन्भेष्टमेन्ट बैंकका लागि समेत प्रतिक्षाको विषय बनेको बताइन्छ । 

'यदि सीडीसी सकारात्मक भयो भने हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन्छ ।' स्रोतले भन्यो । यो विषयमा पनि सीइओ पाण्डेले भने केही खुलाउन चाहेनन् । हिमालयन बैंक नहुँदाको अवस्थामा इन्भेष्टमेन्ट बैंकले लिन चाहेको अन्य कुनै बैंकको नाम समेत उनले भनेनन् । यत्ति चाहि दोहोर्याइरहे-'बलियो बैंकसँग मर्जर गर्ने नै हो ।' 

तर, इन्भेष्टमेन्ट बैंकका एक संचालकले भने पछिल्लो समय सिटिजन्स बैंकलाई लिने संभावनाको विषयमा आफूहरुबीच छलफल चल्ने गरेको बताएका छन् । यो विषयमा सिटिजन्स बैंकको बोर्ड समेत सकारात्मक नै रहेको ती संचालकको दाबी छ । 

सिटिजन्स बैंकलाई लिने विषयमा पनि हामीले सीइओ पाण्डेलाई सोधेका थियौं, यसमा पनि उनले अनभिज्ञता प्रकट गरे । 

तर, कुराकानीको क्रममा उनले बैंक आक्रामक रुपमा अगाडि बढ्न खोजेको, शाखा सञ्जाल बिस्तारलाई प्राथमिकतामा दिन लागेको, कतिपय खर्च घटाएर बैंकको नाफा बढाउने रणनीति तयार गरेको, डिजिटल बैंकिङमा पनि गुणस्तरीय प्रविधिको प्रयोगमार्फत आक्रामक व्यापारमा जम्न लागेको प्रष्ट संकेत गरे । 

कुनै पनि संस्था राम्रो बन्न त्यहाँ बलियो चेन अफ कमाण्ड हुनुपर्ने, कमाण्डर सवल र सक्षम हुनुपर्ने तथा वित्तीय संस्थाको संस्थागत सुशासन राम्रो हुनुपर्नेमा जोड दिंदै पाण्डेले पृथ्वीबहादुर पाँडेको नेतृत्वको खुलेर प्रशंसा समेत गरे । नेपालको बैंकिङ उद्योगमै इन्भेष्टमेन्ट बैंकको नेतृत्व तथ यहाँको संस्थागत सुशासन बलियो रहेको उल्लेख गर्दै उनले भने-'हामीसँग भिजिनरी बोर्ड छ, डेडिकेटेड जनशक्ति छ । सवल र सक्षम साथीहरु छन् । दौडिएर नम्बर वान बन्न गाह्रो छैन । अबको लक्ष्य नै यही हो ।’