काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः समायोजन गरेको छ । 

निगमका अनुसार मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमले पछिल्लो समय पटक-पटक मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो पटक गरिएको मूल्य समायोजनपछि पनि निगमलाई अर्धमासिक रूपमा  १ अर्ब २७ करोड भन्दा बढी घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले दाबी गरेका छन् । 

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्य प्रतिलिटरमा रु. २ ले बढाएको छ । मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

यस्तै, निगमले आन्तरिक उडानतर्फको इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा पनि २ रुपैयाँ वृद्धि गरी प्रतिलिटर ७४ रुपैयाँ कायम गरेको छ । 

एलपी ग्यास तथा आन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।