काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ। 

बजार आज १७.७० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०४ अंकले बढेर ३५८.०३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजाको तुलनामा बढेर १ अर्ब ३८ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) यसअघि आईएमएफले नेपालका बैंकहरुको अडिट गर्ने हल्ला फैलाएर बजार घटाउने काम भएको बताउँछन्। ‘अहिले त्यो हल्ला निराधार भएको र अडिट गरिहाले पनि नेपालका बैंकहरु मजबुत रहेको लगानीकर्ताले बुझेपछि बजार आज सम्हालिएको हो’, उनले भने। 

राष्ट्र बैंकले फागुन १० मा परिपत्र जारी गर्दै लघुवित्तहरुको लाभांश वितरणमा कडाइ गरेका कारण पनि बजारमा नकारात्मक प्रभाव परेको कोइराला बताउँछन्। ‘बजार घटेर न्यून विन्दुमा आइसकेको तथा केही दिनभित्र सरकारले पूर्णता र अर्थमन्त्रीले बजारलाई सम्बोधन गर्ने आशाका साथ लगानीकर्ता एकाएक खरिदचापमा जाँच पनि बजार बढेको हो’, उनले भने।

सक्रिय लगानीकर्ता विष्णु भुसाल लगातार झरेको बजारमा आज सुधार आएको बताउँछन्। ‘घटेको बजारमा कम्पनीहरुको सेयरभाउ पनि निकै तल आएकोले लगानीकर्ताहरुको मनोविज्ञानले सस्तो महसुस गर्यो र खरिदचाप बढ्यो’, उनले भने। 

अब सरकारले छिट्टै पूर्णता पाउने र वैशाखदेखि ब्याजदर पनि घट्ने भएकोले लगानीकर्ताले खरिदचाप बढाएको हुन सक्ने भुसालको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह २.३५ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.२१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२६ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५५ प्रतिशत, जलविद्युत समूहमा १.७२ प्रतिशत, लगानी समूहमा ०.८२ प्रतिशत, जीवन बीमा समूहमा २.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४७ प्रतिशत, अन्य समूहमा १ प्रतिशत र व्यापार समूहमा १.२३ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लघुवित्त समूह मात्रै ०.५१ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको ४ करोड ७० लाख रुपैयाँबराबर कारोबार हुँदा नबिल बैंकको ४ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ९५ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ४० लाख रुपैयाँ, माया खोला हाइड्रोपावरको ३ करोड २९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको ३ करोड १२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सुपर माई हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन नेसनल माइक्रोफाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउ पनि ८ प्रतिशत बढीले ओरालो लागेको छ।