काठमाण्डौ । कोरोना महामारीले सम्पूर्ण विश्व आक्रान्त बनेका बेला भारतमा अर्को एउटा भाइरस फैलिने जोखिम देखिएको छ। 

भारतमा कोरोनाभाइरसभन्दा पनि खतरनाक निपा भाइरसबाट एक बालकको मृत्यु भएको खबर बाहिरिएको छ। परिचय नखुलेका बालकको गत आइतबार केरेला अस्पतालमा उपचारका क्रममा निधन भएको एनडीटीभीले जनाएको छ। भारतको दक्षिणी राज्य केरेला कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित राज्य हो।  

निपा भाइरसबाट मृत्यु हुनुअघि बालकलाई अन्य दुई अस्पतालमा पुर्याइएको र यसक्रममा उनीसँग सयौँ व्यक्ति सम्पर्कमा आएको हुन सक्ने जनाइएको छ। बालकसँग सम्पर्कमा आएका ११ जनामा निपा भाइरसको लक्षणहरु देखिएको र भारतका स्वास्थ्य अधिकारीहरुले यो भाइरसले विश्वव्यापी महामारीको रुप लिन सक्ने भय प्रकट गरेको एनडीटीभीले जनाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यसअघि फैलिएको निपा भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशत रहेको थियो। ‘अहिले फैलिएको निपा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको देखिएको छ। जसले यो भाइरस (निभ) महामारीका रुपमा विश्वभर फैलिने सम्भावना बढाइदिएको छ’, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले जनाएको छ। 

भाइरसको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्न मानिसहरुको घरघरमा गएर जाँच गरिने समाचारमा जनाइएको छ। यस्तै स्वास्थ्य अधिकारीहरुले मृतक बालकबाट लिइएको नमुनाका साथ उनीसँग सम्पर्कमा आएका परिवारका सदस्य स्वास्थ्य कर्मचारी जतिसक्दो धेरै परीक्षण गरिरहेका छन्। परीक्षण गरिएका ८ जनाको नेगेटिभ रिपोर्ट आएको र यसबाट केही राहत महसुस भएको राज्यका स्वास्थ्यमन्त्री भिना जर्जले बताएका छन्। 

निपा भाइरस सर्वप्रथम सन् १९९९ मा मलेसिया र सिंगापुरमा ३०० जनामा देखिएको थियो। जसबाट १०० जनाको मृत्यु भएको थियो। त्यतिबेला भाइरसको संक्रमण रोक्नका लागि १० लाख सँगुर मारिएको थियो। 

यो भाइरसको लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भएकाले यसको पहिचान गर्न कठिनाइ रहेको भारतीय स्वास्थ्य अधिकारीहरुले बताएका छन्। निपा भाइरस लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने र स्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरु देखा पर्ने सीडीसीले जनाएको छ। 

यस्तै मस्तिष्क सुन्निने पनि हुन सक्ने र यस्तो लक्षण देखिएकाहरुमा भाइरसबाट मुक्त भएपछि व्यक्तित्व परिवर्तन हुने सम्भावना रहने गरेको उल्लेख गरिएको छ। यो भाइरसबाट संक्रमित व्यक्तिको महिनौँ र वर्षौंपछि पनि मृत्युु हुन सक्ने सीडीसीले चेतावनी दिएको छ। 

यो भाइरसको अहिलेसम्म कुनै पनि भ्याक्सिन विकास भएको छैन। यसको उपचार भनेको संक्रमितलाई हेरचाह गर्नु र थप समस्या हुनबाट जोगाउनुमात्रै हो। 

केरेलामा यसअघि सन् २०१८ मा निपा भाइरस देखा परेको थियो। त्यतिबेला यो भाइरसबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो।

केरेला यतिबेला कोरोना महामारीसँग जुधिरहेका कारण निपा भाइरसबारे थप चिन्ता प्रकट गरिएको छ। केरेलामा सोमबारमात्रै २० हजार कोरोना संक्रमित देखापरेको थियो। –एजेन्सी