काठमाण्डौ । राष्ट्रिय स्तरको एक विकास बैंक र १० जिल्ले अर्को विकास बैंकबीच मर्जर हुने भएको छ । 

पोखरामा मुख्य कार्यालय रही बैकिङ सेवा संचालन गरिरहेका राष्ट्रिय स्तरको फेवा विकास बैंक र १० जिल्ले गण्डकी विकास बैंकले मर्जरको सम्झौता गरेका हुन् । 

नेपाल राष्टबैंकले ०७४ असार मसान्तभित्र राष्टिय स्तरको विकास बैंक बन्नलाई चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने नियम बनाएको छ । यही समयसीमाभित्रमा राष्ट्रिय स्तरको विकास बैंक बन्ने उद्देश्यले यी दुई बैंकबीच मर्जर सम्झौता भएको हो । 

हाल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको फेवाको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ छ भने १० जिल्ले विकास बैंक गण्डकीको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । यी दुई बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी डेढ अर्ब बढी हुने देखिएको छ । 

गण्डकी विकास बैंकको भदौ २४ गते बसेको बोर्ड बैठकले लगानीकर्तालाई १९.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । फेवा विकास बैंकले भने यो समाचार तयार पार्दासम्म कुनै लाभांश घोषणा गरिसकेको छैन । तर, स्रोतहरुका अनुसार यो बैंकले पनि २५ प्रतिशतको हाराहारीमा सेयर लाभांश वितरणको घोषणा गर्ने संभावना रहेको छ । यदि फेवाको पनि अपेक्षित बोनस सेयर आएमा र गण्डकीको पनि प्रस्तावित बोनस सेयर स्वीकृत भएमा दुवैको बोनस सेयरबाट दुई बैंक मर्ज भई बन्ने नयाँ कम्पनीको चुक्तापूँजीमा बढीमा ३५ करोड रुपैयाँसम्म वृद्धि हुने देखिन्छ । यसले दुई बैंक मर्जपछि बन्ने संस्थाको चुक्तापूँजी २ अर्ब नजिक पुग्नेछ । 

आर्थिक वर्ष ०२७२/७३ को चौमासिक रिपोर्टका अनुसार फेवा विकास बैंकको जगेडा कोषमा ४९ करोड रुपैयाँ  र गण्डकीको जगेडा कोषमा २१ करोड ६७ लाख रुपैयाँ रहेको छ । यो अवधिमा फेवा विकास बैंकले ११ अर्ब ७३ करोड निक्षेप संकलन गरी १० अर्ब २२ करोड ऋण प्रवाह गरेको छ । गण्डकीले चाहि ५ अर्ब ५३ करोड निक्षेप संकलन गरी चार अर्ब ६१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ को अवधिमा फेवा विकास बैंकले ३० करोड रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । उता गण्डकी विकास बैंकले सोही अवधिमा १३ करोड १२ लाख नाफा कमाएको थियो ।