काठमाण्डौ । फेसबुकले अब सेक्सुअल कन्टेन्ट पोस्ट गर्ने अकाउण्ट बन्द गर्ने भएको छ । कम्पनीले आफ्नो पोलिसीमा अपडेट गर्दै यस्तै कैयन निर्णय गरेको छ । 

नयाँ पोलिसीअनुसार यदि कुनै प्रयोगकर्ताले पब्लिक फिगर जस्तै सेलिब्रेटी, नेता, क्रिकेटर तथा पत्रकारलाई टार्गेट गरेर भ्रम फैलाउने खालको पोस्ट लेख्छ भने त्यस्ता प्रयोगकर्ताविरुद्ध समेत फेसबुकले एक्सन लिनेछ । फेसबुकले त्यस्ता प्रयोगकर्ताको प्रोफाइल, पेज, ग्रुप वा इभेन्टलाई सधैंका लागि हटाइदिनेछ । 

प्राय फेसबुक आइडी, पेज तथा ग्रुपको प्रयोग गरेर कतिपय प्रयोगकर्ताहरु मानिसहरुको चरित्रहत्यामा लागिरहेको देखिन्छ । नेपालमा समेत यो समस्या पछिल्लो कालमा बढ्दो छ । तर, फेसबुकको नयाँ पोलिसीअनुसार यदि कुनै व्यक्तिले सेलिब्रेटी, नेता, पत्रकार तथा खेलाडीहरुको चरित्र हत्या गर्ने दूराशयले पोस्ट तयार गर्छ वा कुनै ग्रुपलाई प्रयोग गर्छ भने अब त्यस्ता ग्रुप सधैंका लागि डिलिट हुनेछन् । 

फेसबुकले नयाँ पोलिसीमा सामान्य व्यक्ति र पब्लिक फिगरलाई छुट्याइदिएको छ । फेसबुकले भनेको छ कि सेलिब्रेटी तथा नाम चलेका मानिसहरुको सूची तयार गरिनेछ, त्यस्ता व्यक्तिहरुलाई अनलाइनबाट हुने उत्पीडनबाट बचाइनेछ । 

फेसबुकले आफ्नो पोलिसीमा यो परिवर्तन उसकै एक पूर्व कर्मचारीका कारण गर्नु परेको हो । पूर्व कर्मचारी फ्रान्सेस होग्यानले फेसबुकको केही भित्री पाटोको खुलासा गरिदिएका थिए । यो खुलासा टाइम म्यागजिनमा समेत प्रकाशित भएको थियो । त्यसमा बताइएको थियो कि फेसबुकले सोसल मिडियामा गलत सूचना पोस्ट गर्ने र नकारात्मकता फैलाउने पोस्टहरुविरुद्ध लड्ने गरी तयार भएको टिमका सबै सदस्यहरुलाई तितरबितर पारिदिएको थियो । फेसबुकले सन् २०२० को डिसेम्बरमा सो टिमलाई हटाएको थियो । होग्यानका अनुसार फेसबुकले आफ्नो आन्तरिक एउटा सर्वेक्षणको नतिजा समेत लुकाएको थियो, जसमा इन्स्टाग्रामकले कसरी युवाहरुको दिमागमा नकारात्मक प्रभाव पारिरहेको छ भन्ने कुराको सनसनीपूर्ण खुलासा भएको थियो । 

नयाँ पोलिसीअनुसार फेसबुकले १२५९ वटा अकाउण्ट, पेज तथा ग्रुपलाई समेत ब्यान गरिदिएको छ । फेसबुकले इरानमा ९३ अकाउण्ट, १४ पेज, १५ ग्रुप तथा १९४ इन्स्टाग्राम हटाइदिएको हो । यही महिना फेसबुकले सूडान र इरानमा पनि एक्सन लिएको थियो । सूडानमा फेसबुकले १६६ पेज, ६६६ अकाउण्ट, ६९ ग्रुप तथा ९२ वटा इन्स्टाग्राम अकाउण्ट हटाइदिएको थियो । 

-Agency