काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू बिक्री हुने भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद गर्न लागेको हो । याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता कम्पनीका कारण याहुले निकै ठूलो घाटा समेत व्यहोर्दै आएको थियो । 

सम्बद्ध अधिकारीलाई उद्धृत गर्दै फोब्र्सले लेखे अनुसार भेराइजन कम्पनी याहूको कोर इन्टरनेट व्यापार खरीदको तयारीमा छ । तर यो डिलमा याहूको पेटेन्ट भने सामेल छैन । 

यो डिलमा रियलस्टेट सम्पत्तिलाई सामेल गराइएको छ । अधिकारीहरुका अनुसार इन्टिलेक्चुअल प्रोपर्टीलाई अलग ढंगले बिक्री गरिनेछ । तर तत्काल यो खरिदारीको बिषयमा याहु र भेराइजन, कुनै पनि कम्पनीले आधिकारिक घोषणा भने गरिसकेका छैनन् । 

याहुको मार्केट भ्यालु ३७४१ करोड डलर छ भने भेराइजनको मार्केट भ्यालू २३ हजार करोड डलर रहेको छ । 

सूत्रहरुका अनुसार आगामी केही दिनमै याहु र भेराइजनबीचको खरिदारी सम्बन्धी सम्झौताको औपचारिक घोषणा हुनेछ । याहुकी सीइओ मरिसा मेयर कम्पनीलाई पुनः सफल बनाउन असफल भइन, जसका कारण याहूलाई बिक्री गर्नुपर्ने अवस्था सिर्जना भयो । 

डिल पूरा भएपछि भेराइजनलाई याहुका दैनिक लाखौ प्रयोगकर्ता प्राप्त हुन्छन् । यसअलावा याहूको बढिरहेको मिडिया प्रोपर्टी पनि भेराइजनले प्राप्त गर्नेछ ।