एजेन्सी । कुनै कम्पनीको अकाउण्ट ह्याक गर्नुलाई धेरैले अपराध मान्लान् । अर्काको अकाउण्ट ह्याक गरेर आफ्नो कब्जामा लिनु त्यसै पनि गैरकानूनी काम हो । तर कतिपय सन्दर्भमा भने यस्तो नहुँदो रहेछ । विश्वमै सबैभन्दा ठूलो सञ्जाल फैलाएको फेसबुक ह्याक गर्ने एक भारतीय युवकले सजाय होइन, फेसबुककै तर्फबाट १५ हजार अमेरिकन डलर अर्थात करिब १६ लाख रुपैयाँ पुरस्कार पाएका छन् । 
 

बैंगलुरुमा सफ्टवेयर इञ्जिनियरको रुपमा कार्यरत आनन्द प्रकाशले केही दिनअघि फेसबुक नै ह्याक गरिदिए । फेसबुक ह्याक गर्ने उनलाई कुनै सजाय होइन, फेसबुकले उल्टो पुरस्कृत गर्यो १५ हजार डलर पठाएर । 
 

यति मात्र होइन, आनन्दले अहिलेसम्म फेसबुकलाई मात्र ९० पटक भन्दा बढी ह्याक गरिसकेका छन् । अन्य ठूला कम्पनीको इन्टरनेट तथा अकाउण्ट समेत ह्याक गर्ने गरेका छन् । ती कम्पनीले यिनलाई जरीवाना होइन, पुरस्कार दिने गरेका छन् । 
 

अचम्म, विभिन्न वेबसाइट ह्याक गरेरै आनन्दले अहिलेसम्म डेढ करोड रुपैयाँ भन्दा बढी रकम कमाइसकेका छन् । तपाईँ सोचिरहनुभएको होला, आफ्नै वेबसाइट ह्याक गर्ने ह्याकरलाई कम्पनीले किन पैसा दिने गरेका होलान् ? तपाईका लागि आनन्दको जवाफ छ-'यो इथिकिल ह्याकिंगको हिस्सा हो र कम्पनी यो कामलाई बाउन्टी रिवार्डको रुपमा बुझ्दछ ।' 

फ्लिपकार्ट नामको कम्पनीमा कार्यरत आनन्दले वेबसाइटको लगइन सिस्टममा एक बग पत्ता लगाएका र त्यसको सहयोगले कुशल ह्याकर बनेको बताए । यो बगको मद्धतबाट जुनसुकै ह्याकरले जुनसुकै अकाउण्टको निजी म्यासेज, फोटो तथा अन्य जानकारी हासिल गर्न सक्छ । मैले २२ फेब्रुअरीमा फेसबुकलाई यो बगको बिषयमा बताएँ, उसले २ मार्चमा मैले पाउने इनामको विषयमा सूचना दियो ।
 

आनन्दको विचारमा अधिकांश कम्पनी वायरस तथा बगबाट बच्नका लागि सेक्युरिटी कम्पनीको धेरै रकम दिन विवश हुन्छन । उनको भनाईमा विश्वमा अहिले एउटा नयाँ चलन सुरु भएको छ, फेसबुक, गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीले समेत दुनियाँभरका ह्याकरहरुलाई उनीहरुको वेबसाइट वा कुनै प्रोग्राम ह्याक गर्न खुल्ला निमन्त्रणा दिने गर्छन । यस्ता कम्पनीहरुले ह्याकरहरुको मद्धतबाट आफ्नो वेबसाइट वा प्रोग्रामको कमजोरी पत्ता लगाउँछन् र आफ्नो बिजिनेशलाई अझ मजबुत र सुरक्षित बनाउन ह्याकरहरुबाट उनीहरुलाई मद्धत पुग्नेछ । 
 

बगको बिषयमा जानकारी प्राप्त गर्नैका लागि फेसबुकले समेत हरेक वर्ष एक सूचि जारी गर्छ र त्यहाँ उसले इथिकल ह्याकरको र्याकिंग समेत गर्ने गर्दछ । सन् २०१३ को विश्वभरिको ह्याकरहरुको सूचिमा आनन्द तेश्रो स्थानमा थिए र २०१४ मा चाहि उनी चौथो स्थानमा छन् । यो वर्षको लिस्ट समेत जारी हुनेवाला छ र आनन्द यसमा समेत आफू राम्रै स्थानमा पर्ने आशामा छन् । 
 

आनन्दलाई सबैभन्दा बढी मज्जा फेसबुकमा बग पत्ता लगाउने काममै हुने गरेको छ । फेसबुक बाहेक अन्य कम्पनीले बगको विषयमा रिपोर्ट दिए पनि निकै ढिलो मात्र रेसपोन्स दिने गरेको कारण समेत आफू फेसबुकमै काम गर्न रुचाउने आनन्दले बताएका छन् । आनन्द एक सफ्टवेयर इञ्जिनियर मात्र हुन्, उनले ह्याकिंगको विषयमा छुट्टै कोर्स गरेका छैनन् । वेबसाइटमा फेला परेका सामाग्री, यूट्यूबमा राखिएका सामाग्री लगायतको मद्धतबाट उनले ह्याकिंगको कला सिकेका हुन् । आनन्दको भनाईमा ह्याकिंग सम्बन्धी कोर्स भारतका केही स्थानमा पढाई हुने गरेको भनिए पनि ती सबै नक्कली कुरा हुन् । उनी आफैँ समेत त्यस्तो नक्कली कक्षा लिन पुगेका थिए, तर पछिबाट गुत्थी पत्ता लागेपछि उनी त्यहाँबाट निस्की इन्टरनेटको दुनियाँबाटै कुशल ह्याकर बन्ने दौडमा लागेका थिए । 
बीबीसीबाट