काठमाण्डौ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमबार राति केही घन्टा अवरुद्ध हुँदा कम्पनीका सीईओ मार्क जुकरबर्गले एकैदिन ६.११ अर्ब डलर गुमाएका छन्। 

सोमबार राति करिब ६ घन्टा यी सोसल मिडिया अवरुद्ध बनेका थिए। जसका कारण प्रयोगकर्ताले निकै हैरानी व्यहोर्नुपरेको थियो।

उता सेयर बजारमा फेसबुकको सेयरमा भारी गिरावट आयो। जसका कारण कम्पनीका सीईओ मार्क जुकरबर्गको सम्पत्ति एकैदिन ६.११ अर्ब डलरले घटेको हो। योसँगै विश्वका सर्वाधिक धनीको सूचीमा उनी एक स्थान तल झरेर पाँचौँ नम्बरमा पुगेका छन्।

फेसबुकको सेयरमा सोमबार ४.९ प्रतिशतको गिरावट आएको छ। कम्पनीको सेयरमा सेप्टेम्बर मध्यदेखि हालसम्म करिब १५ प्रहरी गिरावट आइसकेको छ। 

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार फेसबुकको सेयरमा भारी गिरावट आउँदा जुकरबर्गको सम्पत्ति १२२ अर्ब डलरमा सीमित बनेको छ। केही दिनअघिसम्म उनको कुल सम्पत्ति १४० अर्ब डलर रहेको थियो। 

सम्पत्तिमा आएको गिरावटसँगै जुकरबर्ग धनाढ्यको सूचीमा बिल गेट्सभन्दा पछि परेका छन्। बिल गेट्स १२४ अर्ब डलरका साथ चौथो स्थानमा उक्लेका छन्। – एजेन्सी