काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ। ब्रान्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाण्डौमा सम्पन्न भएको हो। 

कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए। उनले यो कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने धारणा राखे। यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाइ थियो। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेसनको विकास उत्साहजनक देखिएकोे बताए। विशेषगरी कोरोनाकालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको उनको भनाइ थियो। ‘१–२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो’, उनले भने, ‘तर आज त्यस्तो प्रश्न आउने अवस्था छैन।’

डिजिटाइजेसनमा गर्नुपर्ने कामहरु धरै रहेको बताउँदै अधिकारीले त्यसका लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए। 

कन्क्लेभमा भिसाको दक्षिण एसिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि–नोट स्पिच प्रस्तुत गरेका थिए। उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठूलो फड्को मारेको बताए। 

कन्क्लेभमा विभिन्न ४ सत्रमा विभिन्न विषयमा प्यान डिसकसन पनि गरिएको थियो। जसमा पहिलो सत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र’ विषयक प्यानल डिसकसन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढंगाना, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र  अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य वक्ताका रुपमा रहेका थिए। 

कार्यक्रमलाई समृद्धि फाउन्डेसनका दिपेन्द्र चौलागाईले मोड्रेसन गरेका थिए। छलफलमा उनीहरुले डिजिटल अर्थतन्त्रको विकास गर्न पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए। 

यस्तै दोस्रो सत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो। विश्वबैंकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थ राज मोडियटर रहनुभएको छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए। यो सत्रमा डिजिटल इकोनोमीमा महिलाहरुलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो। अहिलेको इको सिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिलामैत्री बनाउनुपर्ने उनीहरुको माग थियो। 

यस्तै तेस्रो ससमा ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ? विषयमा छलफल भएको थियो। पत्रकार जनार्दन बरालले मोडिएटर गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउन्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए। कार्यक्रममा उनीहरुले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए। साथै, वैदेशिक व्यापारमा पनि उत्तिकै जोड दिनुपर्ने उनीहरुको भनाइ थियो। 

चौथो सत्रमा ‘हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो। 

नबिल बैंकका सीईओ अनिलकेशरी शाहद्वारा मोडिएटर गरेको उक्त सत्रमा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फन्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्विटीका अध्यक्ष लोकेश टोडी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडकी सीईओ उषा खतिवडा वक्ता थिए। 

नेपालमा युनिकोर्न खोजी गर्न निजी क्षेत्रबाट बिशेष प्रकृतिको पुँजी स्थापना हुनुपर्ने उनीहरुको भनाइ थियो। यसका साथै सरकारले पनि नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्नेमा उनीहरुले जोड दिए। 

कन्क्लेभमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गर्दै डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए। उनले व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेे धारणा राखे। ‘हामीले विगत १८ वर्षदेखि डिजिटल ट्रान्सफर्मेसनलगायतका व्यवसायमा काम गर्दै आएका छौं। यो बीचमा हामीले धेरै दुःख पायौँ’, उनले भने, ‘तर, अब आउने नयाँ उद्यमीहरुले हामीले जस्तो दुःख पाउनुहँुदैन। सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ।’

कोभिड १९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गरिएको थियो। सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवाला,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। यस कार्यक्रमको मुख्य प्रायोजक फोनपे रहेको थियो भने कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको थियो।