काठमाण्डौ । फोब्र्स पत्रिकाले सन् २०१८ का लागि सार्वजनिक गरेको अर्बपति सूचिमा अमेजन कम्पनीका संस्थापक तथा प्रमुख जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।

उनले निकै लामो समयदेखि फोब्र्सको सूचिमा पहिलो नम्बरमा रहेका माइक्रोसफ्ट कम्पनीनका संस्थापक बिल गेट्सलाई पाखा लगाउँदै विश्वकै धनी बन्ने सफलता पाएका हुन् । 

मंगलबार फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचिमा १२० अर्ब डलर सम्पत्तिसहित बेजोस सर्वाधिक धनी बन्न सफल भएका हुन् । यो वर्ष उनले आफ्नो सम्पत्ति ५९ प्रतिशतले बढाउन सफल भए । अमेजनको सेयर मूल्यमा उछाल आउँदा उनको भाग्य चम्किएको देखिएको हो । 

लामो समयदेखि सर्वाधिक धनीको रुपमा रहेका बिल गेट्स भने ९० अर्ब डलर सम्पत्तिसहित दोश्रो धनीमा समेटिन पुुगेका छन् । फोब्र्सको अर्बपतिको सूचिमा पहिलो नम्बरको धनी र दोश्रो नम्बरको धनी व्यक्तिबीचको सम्पत्तिअन्तर यो वर्ष हालसम्मकै फराकिलो देखिएको हो । गेट्स भन्दा बेजोसको सम्पत्ति २० अर्ब डलरले बढी रहेको देखिएको हो । 

सूचिमा सेयर बादशाह वारेन बफेट तेश्रो नम्बरमा रहेका छन् भने गत वर्ष ११ औं स्थानमा रहेका फ्रेञ्च उद्योगपति बर्नार्ड अर्नल्ट चौथो स्थानमा उक्लिएका छन् । डलरको तुलनामा यूरो बलियो हुँदा बर्नार्डको भाग्य चम्किएको विश्लेषण गरिएको छ । 

यो सूचिमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पाँचौ स्थानमा छन् । यस्तै, यो सूचिमा दुुई चाइनिज उद्योगपति समेत यो सूचिको टप २० मा पर्न सफल भएका छन् । यो सूचिमा चीनबाट अलीबाबाका ज्याक मा र टेन्सेन्टका संस्थापक मा हुआतेङ पर्न सफल भएका छन् । 

फोब्र्सले यो पटक २२०८ अर्बपतिहरुलाई सूचिमा समेटेको छ । सूचिमा परेका सबै अर्बपतिहरुको कुल सम्पत्ति ९.१ ट्रिलियन डलरको उचाईमा पुुगेको छ । यो गत वर्षको भन्दा १८ प्रतिशतले बढी हो । 

यो सूचिमा अमेरिकाबाट ५८५ र चीनबाट ३७३ अर्बपति पर्न सफल भएका छन् । यो सूचिमा २५९ नयाँ अर्बपतिको प्रवेश भएको छ । यो पटक क्रिप्टोकरेन्सी संचालन गर्नेहरु समेत अर्बपतिको सूचिमा परेका बताइएको छ ।