काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

हिजो बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति माक्रोनले शुक्रबारबाट लागू हुने गरी पुनः दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। यो लकडाउन डिसेम्बर १ तारिखसम्म लागू हुनेछ र त्यसपछि १५/१५ दिनमा पुनः निर्णय गरिने बताइएको छ। 

लकडाउनका क्रममा मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउनेछन्। रेस्टुराँ र बारहरू बन्द रहनेछन्। विद्यालय र उद्योग तथा कारखानाहरु भने खुलै रहनेछन्।

गत अप्रिलयता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। हिजो मंगलबारमात्र ३३ हजार नयाँ संक्रमित फेला परेका छन्। 

राष्ट्रपति माक्रोनले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए।

राष्ट्रपति माक्रोनले यो महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब ‘निर्मम तरिकाले ब्रेक’ लगाउनुपर्ने बताएका छन्। उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताएका छन्।

मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ। सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ। ‘वसन्त ऋतुमा जस्तै घरबाट काम गर्न बाहिर जान पाइनेछ, उपचारका लागि डाक्टर कहाँ जान पाइनेछ, आफन्तलाई सहायताका लागि जान पाइनेछ र घर नजिकै हिँड्न जान पाइन्छ’, माक्रोनले भने।

पछिल्लो समय युरोपेली देशहरूमा संक्रमण तीव्र रुपमा बढिरहेको छ। थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यु लगाइएको छ। ४ करोड ६० लाख जनसंख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यु लगाइएको छ। – एजेन्सी