काठमाण्डौ । बजार बढेर नेप्सेले फेरि नयाँ कीर्तिमान कायम गरेको आइतबार लगानीकर्ताले एकैदिन ३९ अर्ब रुपैयाँ कमाएका छन् । 

यो दिन १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक हराभरा भयो । दोहोरो अंकले बजार बढेर नयाँ उचाई चुमेको दिन लगानीकर्ताहरु पनि मालामाल भएका देखिएको हो । 

अघिल्लो कारोबार दिनसम्म ३० खर्ब ७९ अर्बमा सीमित कुल बजार पूँजीकरण एकैदिन बढेर हालसम्मकै सर्वाधिक ३१ खर्ब १८ अर्बको उचाईमा पुगेको छ । यसरी एकैदिन बजारको आकार ३९ अर्बले बढेको हो, अर्थात लगानीकर्ताको सम्पत्ति एकैदिन ३९ अर्बले बढ्यो । 

अघिल्लो साताको पहिलो कारोबार दिनसँग यो साताको पहिलो कारोबार दिनको तुलना गर्ने हो भने लगानीकर्ताको सम्पत्ति १ खर्ब ७ अर्बले बढेको देखिन्छ । अघिल्लो साताको पहिलो कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण ३० खर्ब ११ अर्ब मात्रै थियो ।