काठमाण्डौ । आज सेयर बजारमा पहिरो गएको छ। 

यो समाचार तयार पार्दा बजारमा ५ प्रतिशतको गिरावट आएर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। बजार १४७.३१ अंकले घटिसकेको छ। नेप्से परिसूचक २७७९.३१ को विन्दुमा झरेको छ।

बजार ठूला लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक ल्याएकोे सेयर कर्जा सीमाका कारण बजारमा प्रभावित भइरहेको दाबी गरिरहेका छन्। उनीहरुले सेयर कर्जाको सीमा व्यवस्था नहटाइए बजार घटेर आमलगानीकर्ताहरु सम्पत्ति डुब्ने तर्क गरिरहेका छन्। उनीहरुले राष्ट्र बैंकविरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्। 

राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। 

बजार जानकार एवं विश्लेषकहरुले भने बजार छोटो समयमै ठूलो फड्को मारेकोले करेक्सन आउनु स्वाभाविक रहेको भनिरहेका थिए। उनीहरुले यो साताको पहिलो कारोबार दिनबाटै बजार फर्किने अनुमान गरेका थिए। तर, आजको परिस्थितिले यो करेक्सन नभई बजार सुनियोजित ढंगले घटाइएको भन्ने आशंका आमलगानीकर्ताहरुले गर्न थालेका छन्। ‘सेयर धितो कर्जाको सीमाले हामीलाई केही फरक पार्दैन, यसबाट केही ठूलो लगानीकर्ता प्रभावित होलान्’, एक आमलगानीकर्ताले भने, ‘तिनै ठूला लगानीकर्ता राष्ट्र बैंकलाई दबाब दिन यसरी बजार घटाएका हुन्। नत्र बजार यसरी घट्नुपर्ने कारण नै छैन।’

लगानीकर्ता अच्युत सिग्देलले आफ्नो दुनो सोझाउन सानालाई लगानीकर्ताको सम्पत्ति डुबाउने खेलमा ठूला लगानीकर्ता लागेको आरोप लगाए। ‘किनकि बजारको करेक्सन लगभग सकिएको थियो, आज बजार फर्किनुपर्ने थियो’, उनले भने, ‘एकाएक ठूला लगानीकर्ताहरु राष्ट्र बैंकविरुद्ध आन्दोलनमा जाने घोषणा गर्नु र राष्ट्र बैंकलाई दबाब दिने निहुँमा बजार घटाइएको हो।’

मीनप्रसाद प्याकुरेल पनि ठूला लगानीकर्ताकै कारण आज सुनियोजित ढंगले बजार घटाइएको बताउँछन्। ‘उनीहरु आफ्नो उद्देश्य पूर्ति गर्नका लागि जानाजान बजार घटाइरहेका छन्’, उनले भने, ‘सेयर कर्जा सीमा बहानामात्र हो।’

सामाजिक सञ्जालमा लगानीकर्ता किशोर सुवेदीले लेखेका छन्, ‘ठूला लगानीकर्ताको दादागिरी र क्लब हाउसमार्फत आतंकको पराकाष्ठाको असर त झेल्नै पर्यो नि!’

सक्रिय लगानीकर्ता दुर्गा घिमिरेले ठूला खेलाडीले सेयर धितो कर्जामा लबिङ गर्नका लागि आज सुनियोजित ढंगमा सेयर बजार घटाएको बताए। ‘नेपाली सेयर बजारमा धितो कर्जा लिएर सेयर कारोबार गर्ने लगानीकर्ता कति होलान् ?’ भनी प्रश्न गर्दै उनले आक्रोश पोखे, ‘ठूला खेलाडीले धितो कर्जाको नाममा लगानीकर्ताको सेन्टिमेन्टसँग खेलेर आज बजार घटाउँदै छन्।’

अर्का एक लगानीकर्ता भन्छन्, ‘आज ब्रोकर र ठूला खेलाडी मिलेर नेप्से साथै कम्पनीहरुको सेयर मूल्य घटाउँदै छन्।’ ठुला खेलाडी मार्जिन लेन्डिंग घटेको बहानामा सेयर चलखेल गर्दैछन् भने ब्रोकर लगानीकर्ताहरुलाई बारम्बार सेयर बेची पैसा तिर्न फोन गरेर चलखेल गर्दै छन्। अस्ति सम्म ब्रोकरबाट फोन आएको थिएन। तर केही दिनदेखि ब्रोकरले बारम्बार सेटलमेन्टको लागि फोन गर्दै छन्। यो बजार घटाउनको लागि नै होइन? नियामक निकाय के हेर्दै छ?’