काठमाण्डौ । सेयर बजारले आज सोमबार आकर्षक बाउन्सब्याक गरेको छ।

बजार आज १६१.९४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २९८०.७९ को विन्दुमा उक्लिएको छ। नेप्से उच्च अंकले उकालो लागेको यो पहिलोपटक हो। योसँगै नेप्सेले भारी अंकको बढोत्तरीको नयाँ कीर्तिमान कायम गरेको छ। 

हिजो आइतबार बजार १०८.२६ अंकले ओरालो लागेको थियो। सेयर धितो कर्जाको सीमाको विषयले उग्र रुप लिँदा हिजो बजारमा पहिरो गएको थियो। तर, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा पुनरावलोकन गर्न सकारात्मक देखिएसँगै बजारमा बजार उछाल आएको हो। 

आज सेन्सेटिभ इन्डेक्स पनि ३१.४१ अंकले बढेर ५५३.४० को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने पौने १० अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सेयर बजारको पछिल्लो अवस्थाबारे सरकारबाट सम्बोधन हुने भएपछि बजार बाउन्सब्याक भएको बताए। ‘लगानीकर्ताहरुको गुनासो सम्बोधन हुन सक्ने देखियो, जसले गर्दा लगानीकर्ताको मनोबल बढ्यो’, उनले भने, ‘बजार बढ्नुको अर्को कारण भनेको यतिबेला प्रतिफल घोषणा समय भएकोले पनि हो।’ 

आगामी दिनमा पनि बजार करेक्सन हुँदै माथि नै जाने ढकालको दाबी छ। ‘बजार बुलिस नै छ, अझै २ वर्ष बुलको चक्र रहेको छ’, उनले भने, ‘त्यसैले सानातिना करेक्सनमा आत्तिनुभन्दा पनि राम्रा कम्पनी छानेर लगानी गर्दा उचित प्रतिफल प्राप्त हुन सक्छ।’

नेपाल पुँजी बजार सुधार संघर्ष समितिका सहसंयोजक रोहन कार्की सेयर धितो कर्जाको सीमाले बजार केही दिन प्रभावित भएको बताए। ‘बजार घट्नुपर्ने कारण नै थिएन, सानातिना करेक्सन आउनु स्वाभाविक थियो तर हिजो बजारमा पहिरो गयो, यो सबै सेयर धितो कर्जा सीमाकै कारण हो’, उनले भने, ‘यो व्यवस्थामा पुनर्विचार गर्ने सरकारबाट आश्वासन आएको छ, त्यही भएर बजारले आज आकर्षक बाउन्सब्याक गर्यो।’

यो व्यवस्थाविरुद्ध सयौँ लगानीकर्ता आन्दोलनमा उत्रिएपछि सरकारदेखि नियामक निकायसम्म सोच्न बाध्य भएको कार्की भनाइ छ। ‘यो व्यवस्था खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो र सरकार तथा राष्ट्र बैंक यसप्रति सकारात्मक छन्। त्यसैले अब बजारको यात्रा सकारात्मक नै हुन्छ’, उनले भने।

कार्कीले बजारलाई आफ्नै ढंगले सञ्चालन हुन दिन नियामक निकायले सोचविचार गरेर  कदम चाल्नुपर्ने बताए। 

यो दिन नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ९.९२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ९.३४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ४.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ५.६३ प्रतिशत, जलविद्युत समूहमा ९.११ प्रतिशत, लगानी समूहमा ६.८३ प्रतिशत, जीवन बीमा समूहमा ५.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.९६ प्रतिशत, अन्य समूहमा ८.३८ प्रतिशत र व्यापार समूहमा ३.९६ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६.९० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्ला तामाकोशीको २४ करोड ९२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १९ करोड ९९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १९ करोड ८७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ८८ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८ करोड ७६ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको १७ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज केही ऋणपत्र र म्युचुअल फन्डबाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ। तीमध्ये ७० वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। जसमा ४५ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतले र बाँकी २५ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

आज ८ वटा ऋणपत्र र म्युचुअलको मूल्य घटेको छ।

यी हुन् पोजिटिभ सर्किट लागेका कम्पनीहरु –