काठमाण्डौ । साताको पहिरो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।

बजार आज ९४.९२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९५६.९८ विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.९३ अंकले बढेर ३८२.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजार धेरै घटेको आज बढेको बताउँछन्। ‘लगानीकर्ताहरु प्यानिक अवस्थामा थिए’, उनले भने, ‘सरकार र नियामक पुँजीबजारप्रति सकारात्मक देखिएसँगै लगानीकर्ताको मनोबल बढेको देखिन्छ।’

रुस–युक्रेन युद्धको प्रभाव पनि कम हुँदै जानु र विश्व सेयर बजार पनि सम्हालिँदै जाँदा त्यसको प्रभाव नेपालको सेयर बजारमा पनि देखिन थालेको बास्तोला बताउँछन्। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि बजार धेरै तल्लो विन्दुमा आएर फर्केको बताउँछन्। ‘अब मौद्रिक नीति आउँदै गर्दा लगानीकर्ताले सकारात्मक आशाका साथ पुनः बजारमा फर्केका देखिन्छ’, उनले भने, ‘अब बजार ४००–५०० अंक माथि नै जाने सम्भावना छ। यद्यपि बजारमा मार्जिन कल र असार मसान्तको प्रभाव बाँकी नै रहेकोले सामान्य करेक्सन हुँदै बजार माथि जान सक्छ।’

पुँजीबजार सुधार र विकासका लागि लगानीकर्ता र नियामक निकायबीच भएको १९ बुँदे माग कार्यान्वयन गर्ने सहमतिले पनि बजारमा सकारात्मक महौल बनेको कँडेल बताउँछन्

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

आज लगानी समूह सर्वाधिक ८.८७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.६९ प्रतिशत, व्यापार समूहमा ७.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ५.७३ प्रतिशत, जलविद्युत समूहमा ७.७ प्रतिशत, वित्त समूहमा ७.७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.८ प्रतिशत, उत्पदन तथा प्रशोधन समूहमा ६.२३ प्रतिशत, अन्य समूहमा ७.०७ प्रतिशत, लघुवित्त समूहमा ५.७६ प्रतिशत, जीवन बीमा समूहमा ४.०९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ३.५५ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ६३ लाख ६३ हजार ५९० कित्ता सेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँमा किनबेच भएका छन्। 

आज कुमारी बैंकको सर्वाधिक ८ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन ङादी ग्रुप पावरको ८ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ४१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ९५ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ५२ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। २१ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा १८ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटि सर्किट लागेको हो। ११ वटा कम्पनीको सेयरमूल्य भने ९ प्रतिशत बढीले बढेका छन्। 

सेयरभाउ १० प्रतिशतले बढेका कम्पनीहरु

नेसनल हाइड्रोपावर, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनानस, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सिवाईसी लघुवित्त।

सेयरभाउ १० प्रतिशतको हाराहारीमा बढेका कम्पनीहरु

हिमाल दोलखा हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार कम्पनी, लिबर्टी इनर्जी, न्यादी हाइड्रोपावर, हिमालयन पावर पाटर्नर, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा माई हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा, पोखरा फाइनान्स, श्री इन्भेस्मेन्ट फनाइनान्स, ङादी ग्रुप पावर, अरुण कोबेली पावर, पाँचथर पावर पाटर्नर, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंक।

आज एउटा पनि कम्पनीको सेयरमूल्य ओरालो लागेको छैन। एउटा म्युचुअल फन्ड र ४ वटा ऋणपत्रको इकाइमूल्यमा सामान्य गिरावट आएको छ।