– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को मंगलबार बसेको सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको छ।

सेबोनका कर्मचारीहरुका अनुसार सञ्चालक समितिबाट तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्तावसहितको पारित भएको उक्त संशोधित नियमावलीको मस्यौदा अर्थ मन्त्रालय पठाइएको छ। उक्त नियमावली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

सेबोन अध्यक्ष रमेशकुमार हमालले बजार विकास र विस्तारका लागि कोटा प्रणालीबाट आउने सीमित ब्रोकरहरु पर्याप्त नभएकाले बजारको माग र विश्वको विकसित बजारहरुको अध्ययन गरी खुला प्रणालीबाट ब्रोकर सञ्चालनमा ल्याउने व्यवस्थाको प्रस्ताव गरिएको बताए। ‘कोटा प्रणाली नभई खुला प्रणालीबाट सबै जनताले समान अवसर पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने। 

‘बजारमा उच्च योग्यताका साथै उच्च पुँजी भएका ब्रोकरहरु सञ्चालनमा आउनुका साथै बजारले खोजेको विकास, सन्तुलन र सुरक्षा हुन्छ भनेर नै यो व्यवस्था ल्याउन लागिएको हो’, बिजशालासँग हमालले भने, ‘जनताप्रति नेपाल सरकारका सबै सरकारी निकायहरु उत्तरदायी हुनु पर्छ। त्यसैले बजारले नै निर्धारण गर्ने र तोकिएको समय सीमाभित्र मापदण्ड पुग्ने सबैले ब्रोकर सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागिएको हो।’

पुँजीबजारसम्बन्धी ज्ञानका साथै विज्ञता भएका उचित सेवा दिएर उचित प्रतिफल दिने क्षमता भएका इच्छुक सबै संस्थालाई अवसर पाउने व्यवस्था गर्न लागिएको हमालले बताए। 

२ करोड पुँजी भएका ब्रोकरलाई २ वर्षमै २० करोड पुँजी पुर्याउन कतिको सम्भव छ ? भन्ने जिज्ञासामा अध्यक्ष हमालले आफूहरुले सक्षम नहुने ब्रोकरहरुलाई तोकिएको पुँजी पुर्याउन २ वर्ष समय दिएको बताए। ‘दुई वर्षमा एउटा नबोल्ने बच्चा त मज्जाले बोल्ने, हिँड्ने हुन्छ भने ब्रोकरहरुलाई पनि तोकिएको पुँजी २ वर्ष समयअवधिमा पुर्याउन पर्याप्त हुन्छ’, उनले भने। 

आफूहरुले स्वच्छ–सफा प्रणालीको व्यवस्था ल्याउने प्रयत्न गरिरहेको हमालले बताए। ‘भोलिका दिनमा जनताले कोटाको व्यवस्था नै चाहिन्छ भनेर माग गर्नुभयो भने त्यही व्यवस्था अवलम्बन गरौँला’, उनले भने। 

बजार विस्तार भएसँगै सेबोनको पनि नियामयकीय क्षमता विस्तार गर्न पनि उत्तिकै आवश्यक रहेको हमालको भनाइ थियो।