काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा आकर्षक बढोत्तरी भएको छ। 

बजार आज ३२.४३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६५.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले बढेर ३८६.२६ को विन्दुमा पुगेको छ। आज कारोबार पनि २ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले चुनावी खर्चका पैसाहरु धमाधम बैंकिङ च्यानलमा आइरहेकोले तरलता सहज हुँदै जाँदा बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘बजार एक त तल्लो विन्दुमा आइसकेको थियो, त्यहाँबाट बजार फर्किएको छ’, उनले भने। 

अब चुनावी नतिजा पनि अन्तिम चरणमा रहेको र सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलहरुले नयाँ सरकार गठनको कसरत सुरु गरिसकेकोले पनि लगानीकर्ताहरुमा उत्साह थपिएको ढकालको भनाइ छ। ‘नयाँ सरकारले पुँजीबजारमैत्री नीतिहरु ल्याउने आशा लगानीकर्तामा देखिएको छ’, उनले भने। 

हालै राष्ट्र बैंकका गभर्नरले तरलता सहज हुँदै गएको र अर्थतन्त्रमा पनि सुधार देखिँदै गएको भन्ने अभिव्यक्ति दिनुले पनि लगानीकर्ताको मनोबल बढेको हुन सक्ने ढकालको भनाइ छ। ‘अर्कोतर्फ विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएको छ’, उनले भने, ‘त्यसैले अब पुँजीबजार विस्तारै–विस्तारै आफ्नो लयमा फर्किन्छ।’

बजार जानकार एसी चौलागाईं विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउनुले अब ब्याजदर घट्ने सम्भावना प्रबल रहेकोले सेयर बजार लयमा फर्किन थालेको बताउँछन्। ‘किनकि ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ’, उनले भने। 

अर्कोतर्फ बजारको लो प्वइन्ट यही नै हो भने लगानीकर्तामा एउटा कन्फिडेन्ट भएकोले पनि बजारमा सकारात्मक प्रमाव परेको उनको बुझाइ छ। ‘अहिले तरलता सहज हुँदै जानु र सीडी रेसियो पनि घट्नुले पनि बजार बढ्न थालेको हो’, उनले भने। १४ महिनाको बियरिस ट्रेन्ड सकिएकोले अब बुलिस ट्रेन्ड सुरु हुने भन्दै लगानीकर्ताहरुले घाटामा सेयर बेच्न नचाहेको पनि चौलागाईंले बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ३.०७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.२३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा १.८६ प्रतिशत, वित्त समूहमा २.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३५ प्रतिशत, जलविद्युत् समूहमा १.८६ प्रतिशत, लगानी समूहमा १.२७ प्रतिशत, जीवन बीमा समूहमा १.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा १ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत र व्यापार समूहमा १.४७ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै करोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४५ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ, नेपाल टेलिकमको ९ करोड ७९ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड १८ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४ करोड ७९ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ४ करोड १० लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ करोड ७५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड १४ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज डिप्रोक्स लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढी उकालो लागेको छ। 

यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।