– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा तीन दिन कारोबार भएको छ। तीन दिनमा बजार दुई दिन बढ्यो भने एक दिन घटेको छ। 

अघिल्लो साता १९६९.०३ मा बन्द भएको बजार यो साता भने २००२.७ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३३.६७ अंकले बढेको छ। अघिल्लो साता सेयर बजारमा ५३ अंकले गिरावट आएको थियो। 

यो साता सेयर बजारमा जम्मा ४ अर्ब ७ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस हिसाबले दैनिक औसत कारोबार १ अर्ब ३५ कारोड रुपैयाँबराबरको भएको छ। यस्तो कारोबार अघिल्लो साताको ५ दिनमा ८ अर्ब हाराहारी भएको थियो। 

अघिल्लो साताको तुलनामा यो साता नेप्से सूचक बढेको छ भने कारोबार सामान्य नै रहेको छ। यो साता बजारको लगातार घटाइमा ब्रेक लागेको छ। 

प्राविधिक पक्ष 

डाउ थेउरीका आधारमा 

डाउ थेउरीमा खासगरी बजारको ट्रेन्ड हेर्ने प्रयोग गरिन्छ। यदि बजारले अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्चतम विन्दु माथि हुन्छ अथवा अघिल्लो न्यून विन्दुभन्दा पछिल्लो न्यून विन्दु माथि हुँदै जान्छ भने त्यसले बढ्दो बजारलाई जनाउँछ। अर्थात् यसलाई अप ट्रेन्ड भनिन्छ। 

यसविपरीत यदि ट्रेन्ड लाइनमा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्चतम विन्दु तल बन्छ भने त्यसलाई घट्दो बजार वा डाउन ट्रेन्ड भनेर बुझिन्छ। 

हालको बजारलाई यस आधारमा हेर्दा लगभग १८०६ सम्मा आएको देखिन्छ। त्यसपछि बढेको बजार २२०० भन्दा माथि गएको देखिन्छ। तर, टिक्न भने सकेन। त्यहाँबाट खसेको बजारले १९०० भन्दा माथि हाल पछिल्लोपटक १९३८ को विन्दुबाट बजार फर्केर यो साता २००० हजार माथि बन्द भएको छ। 

यदि बजार आगामी दिनमा त्यहाँभन्दा तल आउँदैन भने डाउ थेउरीमार्फत हेर्दा १९३८ को विन्दु नै हायर लो बन्न जान्छ। यो भनेको बजारले अब अप ट्रेन्ड लिँदैछ भन्ने हो। यदि अगामी दिनमा बजार २००० भन्दा माथि–माथि नै टिकेर भोलुमसहित कारोबार हुँदै जान्छ भने बजारले आगामी दिनमा बुलिस यात्रा तय गर्न सक्ने देखिन्छ। तर, यदि बजार फेरि १९०० भन्दा तल झरेमा भने बजारले बियरिस यात्रा तय गरेको मान्न सकिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

नेप्सेको आवरली चार्टमा बजारलाई हेर्दा गत ७ फेब्रुअरीमा बोलिंगरको अपर ब्यान्डमा छोएर खसेको बजार त्यसयता यो साताको अन्तिम कारोबारमा आवरली चार्टमा मध्य ब्यान्ड ब्रेक गरेर माथि गएको छ। (हेर्नुहोस् कालो एरो)

त्यसैगरी म्याक्डीमार्फत हेर्दा पनि बजार गत ७ मार्चमा बुलिस क्रसओभर भएको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा भएका छन्। 

आवरली चार्टमै २५ को ओभर सोल्ड जोनमा पुगेर हाल ५५ को तहमा पुगेको छ। समग्रमा यी तीनवटै इन्डिकेटरले बजार अल्पकालका लागि बुलिस यात्रा तय गर्दै गरेको बुझिन्छ। 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशतका हुन्छन्।  

यदि आगामी दिनमा बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २१७६ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २११४ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २०६० को विन्दुसम्म, ०.६१ प्रतिशतको टेवामा २०११ को विन्दुसम्म र ०.७८ प्रतिशतको टेवामा १९३८ विन्दुसम्म आउन सक्छ ।

निष्कर्ष 

यो साता सेयर बजारमा तीन दिन कारोबारमा लगभग ३४ अंकले बढोत्तरी भएको छ। यसले विगत तीन सातादेखि बजारको घटाइमा ब्रेक लागेको छ। कारोबार तथा भोलुममा भने खासै प्रगति भएको देखिँदैन। तर, पनि बजार यो साता २००० भन्दा माथि बन्द भएकोले मनोवैज्ञानिक रुपमा पनि बलियो बनेको देखिन्छ। 

प्राविधिक रुपमा यो साता फिवोनासीको ०.७८ को विन्दु १९३९ मा बलियो सपोर्ट लिएर बजार फर्केको छ। बजारलाई डाउ थेउरीमार्फत हेर्दा यो विन्दुमा हायर लो बनाएको देखिन्छ। यसले बजार माथिकै यात्रा तय गर्दै गरेको देखिन्छ। यसका लागि भने आगामी दिनमा बजारले भोलुमसहित पुनः २०६० भन्दा माथि नै बन्द हुनुपर्नेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।