-राधा पोखरेल
उच्च शिक्षा हासिल गर्ने अवसर गाउँमा नभएकोले २०६१ सालमा काठमाण्डौ छिरेँ । आजसम्म आइपुग्दा मैले मास्टर डिग्री हासिल गरें । म सानै छदा नयाँ नयाँ खोज, अनुसन्धान र अन्वेषण गरिरहन्थेँ । छोरीले पनि चाहे भने हिम्मत गरे भने छोरा सरह गर्न सक्छन् भन्ने मलाई ४र५ क्लासमै पढदा लाग्ने गर्थ्यो  । 

हेर्नुस त आज म १५ लाख भन्दा बढी लगानीकर्ता रहेको नेपाली सेयर बजारको केन्द्रीय अध्यक्ष भएर लगानीकर्तामाझ परिचित छु र पुगिरहेकी छु । 

अझ म भित्र अर्को राज छिपेको छ । म एक मुटुरोगी बेटी हुँ । मेरो आज भन्दा १४ वर्ष पहिला ओपनहर्ट सर्जरी गरी मुटुका दुई भल्भहरु फेरिएका छन् ।

छोरी त्यसमा पनि मुटु चिरिएकी छोरी, घरको पेरीफेरीमै मात्र सीमित हुनुपर्ने अवस्थाकी हुन् भनेर पनि केहीले मलाई भनेका थिए । तर मैले हिम्मत हारिँन । बरु मैले भरखर भरखर बामे सर्दै गरेको नेपाली पूँजीबजारलाई नेपालका कुनाकन्दरा, दुरदराज समेतमा पुर्याउँछु भनेर अग्रसर हुँदै आएकी छु ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले यसै आर्थिक वर्ष भित्र मुलुका सातै प्रदेशमा भव्य कार्यक्रम राख्दैछ । त्यसमध्ये मैले  हाम्रो कार्यक्रमको बिगुल ३ नम्बर प्रदेशको धादिंगबाट फुकेकी छु ।

म अब सेयर बजारमा केन्द्रीत हुन चाहन्छु । नेपालमा औपचारिक रुपमा सेयर कारोबारको सुरुवात १९९४ सालमा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेपछि भएको पाइन्छ । तर, सेयर बजार विकासको मोडालिटी भने २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापानापछि भएको हो ।

२०४० सालमा धितोपत्र खरिद ऐन जारी गरेको सरकारले सो ऐनलाई समयानुकुल परिमार्जित गर्दै २०४९ मा संशोधन गर्यो । सोही संशोधनका आधारमा २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्ड र सोही वर्ष पुस २९ गते नेपाल स्टक एक्सचेञ्जको स्थापना गर्दै पुँजी बजारलाई विकास र विस्तारको प्रयास भयो ।

ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतीकिकरण कारोबारको अवस्थामा आइपुगेको छ । तर पनि नेपालको पूँजीबजार पूर्ण रुपमा विकसित हुन सकिरहेको छैन् । 

पूँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरुमा अझै सुधार गर्नुपर्ने छ । अनलाइन प्रणालीमा नगएसँम पुँजी बजारको विकासको गति सुस्त नै रहने अनुमान गर्न सकिन्छ ।

हाम्रो बजारमा अझै पनि सेयर साक्षारताको कमी छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहाने लगानीकर्ता पनि हच्किनुपर्ने स्थिति छ । बजारमा सेयर परामर्शदाताहरुको व्यवस्था छैन ।

त्यसैले लगानीकर्तालाई बढीभन्दा बढी सेयर साक्षरताको आवश्यकता देखिएको छ । बजारको आकार र आकर्षणमा आएको वृद्धिसँगै पुँजी बजारमा भित्रिन चाहाने नयाँ लगानीकर्ताहरुको सङ्ख्या पनि पछिल्लो समय बढेर गएको छ ।

अमेरिका लगायत दुनियाँभरका धेरै सेयर बजारका लगानीकर्ताले विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सेयर किनबेच गर्न सक्छन, बिडम्वना नेपाल मात्र यस्तो देश हो, जहाँ सेयर किनबेच गर्न २०५० माघबाट नै ब्रोकर कार्यालय नै धाउनुपर्ने बाध्यता रहँदै आएको भए पनि गत कार्तिक २० गतेबाट हाम्रो सेयर बजार पनि पूर्ण अनलाईन सिस्टममा जाने प्रयास गरेको छ । 

हामीले यो सिस्टमबाट अधिक फाईदा लिनुपर्ने हुन्छ । नयाँ सिस्टम भरखरै लञ्च भएको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले हामीसँगको सहकार्यमा यो सिस्टमलाई देशको दुरदराजसम्म पुर्याओस् भन्ने हाम्रो अनुरोध छ ।

भनिन्छ कोदो पनि रोपेपछि मात्र फल्छ । धान पनि फलाउन रोप्नै पर्छ । पैसा पनि रोपेपछि फल्छ । धान र कोदो खेतबारीमा फल्छ भने पैसा फल्न सेयर बजारमा रोप्नुपर्छ । सेयर हुनु भनेको कम्पनीको मालिक हुनु हो । कम्पनीले कमाएपछि सेयरहोल्डरलाई नै बाँड्ने हो । आजको भोलि नै कमाउन खोज्नेका लागि सेयर बजार उपयुक्त ठाउँ होइन । जो आजको भोलि कमाउन सेयर बजारमा प्रवेश गर्छन, हो तिनले नै घाटा खान्छन र सेयर बजारलाई ूजुवा घरू भन्न पनि पछि पर्दैनन् ।

विश्वभरिकै सेयर बजारको प्रकृति उस्तै हो । फरक भनेको प्रविधिको प्रयोगमा हो । हाम्रो देशमा पनि अनलाइन ट्रेडिंगको सुरुवात हुँदैछ, यसपछि हामी  दार्चुलादेखि ताप्लेजुंगसम्मबाट पनि सेयर किनबेच गर्न सक्छौ, त्यो पनि ब्रोकर कार्यालय नपुगी । 

सेयर बजारमा सूचिकृत कम्पनीले लगानीकर्तालाई कमाएको लाभांश बाँडछन् । कम्पनीको आम्दानी देशको अर्थव्यवस्थामा आधारित हुन्छ । देशको अर्थव्यवस्था मजबुत हुँदै गएमा कम्पनीको आम्दानी पनि बढ्छ । कम्पनीको आम्दानी बढ्नु भनेको लगानीकर्ताको लाभांश बढ्नु हो । यसले बजारमा सेयरको मूल्य समेत बढाउँछ ।

अब नेपालको सेयर बजार सुनौला दिनहरुको संघारमा उभिएको छ । अब चाँडै नै  सेयर बजारले नयाँ युगमा प्रवेश पाउनेछ र लगानीकर्ताहरुको सोचाई भन्दा धेरै माथिको छलाङ्ग मार्ने  पक्का छ।

चंगा उडाउनलाई तपाईसंग जति नै बढी ज्ञान भए पनि हावा नभई चंंगा उड्दैन, त्यसैगरी सेयर बजारमा जसले जति नै ज्ञान हासिल गरे पनि माहोल नबनी सेयर बजार माथि जाने होइन ।

सेयर मार्केटमा पढेलेखेको मानिस सधै सफल हुँदैनन् । सेयर मार्केटमा हरेक लगानीकर्ता अन्दाज लगाएर काम गर्ने गर्छन । यो मार्केट भन्दा ठूलो कोही हुदैन । 

हामीले सेयर मार्केटको ईतिहास हेर्ने हो भने यहाँ यति धेरै पढेका मानिस, समझदार मानिस, ठूला मानिस र धुरन्धर मानिसले यो मार्केटमा ठूला गल्ती गरिरहेका हुन्छन् ।

उनीहरुले गरेको जस्तो गल्ती तपाँई र म जस्ता साना लगानीकर्ताले गर्नै सक्दैनौ । ठूलो गल्ती त तिनैले गर्छन्, जो ठूलो काम गर्छन् । त्यसैले उनीहरुले ठूलो काम गरेका थिए र गल्ती हुँदा पनि ठूलै भइदियो ।

कसैकसैले भन्ने गर्छन्: यो मार्केटमा जो धेरै पढे लेखेको छ, उसैले गर्न सक्छ । तर, मेरो अनुभव भिन्न छ । यो मार्केटमा काम गर्न त्यस्तो धेरै पढे लेखेको हुनु पर्दैन । आठ कक्षा पास गरेको विधार्थीले पनि यति राम्रो काम गर्न सक्छ कि बरु एमबिए पास गरेको व्यक्तिले पनि नम्बर कम पाउनसक्छ, फेल हुनसक्छ । 

यो मार्केटमा जोसँग एजुकेसन बढी छ, उसैले थोर नम्बर पाउँछ । 

यो मार्केटको नियम हो भन्दा पनि फरक नपर्ला । जुन मानिसले बढी पढे लेखेको छ, उसको दिमागमासिक्नु पर्छ भन्ने नै हुँदैन, मलाई त सबै आउँछ ।  म त धेरै पढेकै छु नि भन्छ । सिक्नलाई दिमागमा खालिठाउँ नै छैन भने जसरी कुरा गर्छ । यो काम एक्लै गर्न मिल्ने भएकोले यहाँ धेरै पढ्नु लेख्नु जरुरी नै हुँदैन । 

तपाँईले पढदाको समयमा सयौं किताब पढनु भयो होला । जति तपाँईले पढनु भएको छ त्यो सबै यो मार्केटका लागि काम छैन । किनकि यस मार्केटमा छुट्टै किसिमको खास पढाई हुने गर्छ । यो मार्केटको तरिका तपाँईले जान्न जरुरी छ । तपाईको पढाई यस मार्केटमा लगाएर मार्केटलाई मेरो बाटोमा लैजान्छु भन्नु भयो भने त्यो नै महाभूल हुनेछ । मार्केटको आफ्नै तरिका छ । 

दुनियाँकै  सेयर मार्केटको ईतिहासलाई हेर्ने हो भने यो मार्केटमा कैयन पढेलेखेका दिग्गज दिग्गज मानिसहरु पनि असफल भएका छन् । यति ठूला मानिस कि जो नोवेल पुरस्कार विजेता थिए, कोही ठूला विद्धान थिए । उनीहरुले एउटा फण्डको सुरुआत गरेका थिए । यस्ता मानिस जसले यति ठूलो फण्ड संचालन गरेका थिए । यसका डाइरेक्टरहरु उनीहरु नै थिए । यति ठूला विद्धानहरु मिलेर त्यो फण्ड बनाएका थिए । कसैले पनि यो फण्ड बिग्रेला भनेर कल्पना समेत गर्न सकेका थिएनन् । जस्तो कि वलिउड मूभि अमित्ताभ बच्चन, सलमान खाँन, सारु  खाँन र अमिर खाँन मिलेर बनाए भने कसले सोच्ला कि यो मुभी फ्लप हुन्छ भनेर ? तर, सबैको फिल्म त चल्दैन ।

हो, फण्ड त बन्यो दुई वर्ष जति राम्रै संग चल्यो तर तेस्रो वर्षमा बैंक करप्ट भयो अनि यो फण्ड पनि बन्द भयो । यति ठूला ठूला विद्धानले चलाएको फण्ड बन्द भयो । अब आफैं सोच्नुहोस्, यहाँ पढाई लेखाईले के गर्यो ?

अझ यि कुराहरुलाई मनन गरौं ।

यदि तपाईंलाई कुनै सेयर राम्रो लाग्छ भने त्यसमा आफूसँग भएको लगानी रकमको बढीमा १० प्रतिशत मात्र लगानी गर्ने गर्नुस ।

मलाई घाटा भइरहेको छ, तर चिन्ता छैन, कारण म एक लङ टर्म इन्भेष्टर हुँ। 

सेयर बजारबाट पैसा कमाउने एउटै मन्त्र हो, यसबाट  भाग्दै नभाग्नुस् ।
(नेपाल 
पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले तयार पारेको आलेखको सम्पादित अंश)