काठमाण्डौ । कारोबार सुरु भएदेखि नै भीषण पहिरोको सामना गरेको मंगलबारको सेयर बजार करिब २ घण्टाअघि नै बन्द भएको छ। 

यो दिन बजार परिसूचक नेप्से कारोबार सुरु भएको पहिलो एकघण्टामा ४ प्रतिशतले घटेको थियो । ४ प्रतिशतले बजार घटेपछि नेप्सेले पहिलो सर्किट लगाई २० मिनेटका लागि कारोबार रोकेको थियो । २० मिनेटपछि कारोबार खुले पनि करिब १३ मिनेटमै बजार ५ प्रतिशतले घटेपछि दोश्रो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

दोश्रो सर्किटपछि खुलेको बजारको पहिरो थामिएन । तीव्र गिरावटसँगै बजार परिसूचक ६ प्रतिशतले घटेपछि नेप्सेले करिब २ घण्टा समय बाँकी छँदै मंगलबारको कारोबार १ः१३ बजे बन्द भएको घोषणा गरेको हो । 

सेयर बजार परिसूचक(नेप्से)मा कारोबार सुरु भएपछि भीषण पहिरो गयो भने गिरावटको प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाई बजारलाई नियन्त्रण गर्ने परिपाटी चलिआएको छ । 

नेप्सेले कुनै पनि कारोबार दिनमा बजार खुलेको पहिलो एकघण्टाभित्र बजार परिसूचक(नेप्से इण्डेक्स) ४ प्रतिशतले घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ । 

बजार खुलेको दोश्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । र, त्यसपछि पनि गिरावटको क्रम निरन्तर रह्यो र बजार ६ प्रतिशतले घट्यो भने कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ । 

मंगलबार नेप्से परिसूचक ८६.३९ अंकले घटेर १३४९.३१ को विन्दूमा सीमित हुन पुग्यो । 

यो दिन राम्रा र बलिया कम्पनीमा उच्च बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १७.३५ अंकले घट्यो समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ६.२१ अंकको गिरावट देखियो । 

यो दिन जीवन बिमा समूहमा सबैभन्दा ठूलो पहिरो गयो । यो समूहको उपसूचक ९.१ प्रतिशतले घट्यो । 

यस्तै, व्यापार समूहको उपसूचकमा ७.८६ प्रतिशत, होटल समूहमा ६.६८ प्रतिशत, बैंकिङमा ६.५८, निर्जीवन बिमा समूहमा ५.८, विकास बैंक समूहमा ४.८, माइक्रोफाइनान्समा ४.४७, उत्पादन तथा प्रशोधन समूहमा ४.४४, अन्य समूहमा ४.०५, जलविद्युत समूहमा ३.७९ प्रतिशत, बित्त समूहमा २.८७ र म्युचुअल फण्डमा ०.३२ प्रतिशतको गिरावट आयो । 

यो दिन १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता सेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३०० रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ५८ लाख बढीको सेयर किनबेच भयो । 

त्यसपछि एनआइसी एशियाले ८ करोड २० लाख, एनएमबी बैंकले ६ करोड ७९ लाख, नवील बैंकले ४ करोड ८३ लाख, ग्लोबल आइएमई बैंकले ४ करोड ६० लाख, हिमालयन डिस्टीलरी ३ करोड ९० लाख, प्रभू बैंकले २ करोड ८८ लाख र नागरिक लगानीकोषले २ करोड ६४ लाख, नेपाल बैंकको २ करोड ३२ लाख र एभरेष्ट बैंकले २ करोड ३० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइबिएल समृद्धि फण्ड १ को इकाई मूल्यमा ३.७६ प्रतिशतको बढोत्तरी भयो । 

कारोबार आएका कम्पनीमध्ये यो दिन अधिकांशले गुमाए । यो दिन ८ वटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । 

एलआइसी नेपाल र नेको इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आयो । 

यस्तै, एभरेष्ट इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, नेशनल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो।

यो दिन छिमेक लघुवित्त, शिवम सिमेन्ट, नाडेप लघुवित्त र यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घट्न पुग्यो ।