काठमाण्डौ । सेयर कारोबार अवधि थपिएर ५ घण्टा भएपछिको पहिलो कारोबार दिनको बजारमा तीव्र गिरावट भएको छ । 

यो दिन कारोबारको सुरुवातमा नेप्सेको वेबसाइटमा समस्या आई लगानीकर्ता अलमलमा परेका थिए । 

बजार खुलेको केही मिनेटपछि वेबसाइटको समस्या हल भए पनि बजार बढ्ने लगानीकर्ताको अपेक्षा भने पूरा भएन । सुरुवातदेखि नै तीव्र गतिमा गिरावट व्यहोरेको बजार ६४.१४ अंकले घटी १३१३.०४ को विन्दूमा सीमित बन्न पुग्यो । 

यो दिन राम्रा र बलिया कम्पनीमा उच्च बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १२.८८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ४.६२ अंकले घटेको छ । 

यो दिन बजारका सबै समूहका उपसूचकमा पहिरो गएको छ । 

सबैभन्दा ठूलो गिरावट जीवन बिमा र निर्जीवन बिमा समूहमा देखिएको छ । जीवन बिमा समूहको उपसूचक ६२१.८८ अंकले घटेको छ भने निर्जीवन बिमा समूहमा ४१६.७३ अंकको गिरावट आएको छ । 

बैंकिंग समूह ५७ अंकले घटेको यो दिन व्यापार समूहमा ४३.७९ अंक, होटल समूहमा ५२.४८ अंक, विकास बैंक समूहमा ६२.८७ अंक, जलविद्युत समूहमा ३२.८७ अंक, वित्त समूह २२.२ अंक, उत्पादन तथा प्रशोधन समूह ८०.२३ अंक, अन्य समूह १८.२३ अंक, माइक्रोफाइनान्स समूह ९३.४३ अंक र म्युचुअल फण्ड समूह ०.३१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ३६ लाख बढीको सेयर किनबेच भयो । 

एनआइसी एशियाको ११ करोड ४६ लाख बढीको सेयर कारोबार भएको यो दिन एनएमबी बैंकले १० करोड ५६ लाख, शिवम सिमेन्टले ७ करोड ५७ लाख, नेपाल बैंकले ६ करोड ८७ लाख, हिमालयन डिस्टीलरीले ५ करोड ४९ लाख, नवील बैंकले ५ करोड ३५ लाख, ग्लोबल आइएमई बैंकले ४ करोड ४८ लाख, एभरेष्ट बैंकले ४ करोड ४२ लाख र प्रभू बैंकले ४ करोड ३२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ३ वटा कम्पनीको सेयर मूल्य मात्र बढ्यो । यूनाइटेड मोदी हाइडोपावर, सिन्धु विकास बैंक र वोमी माइक्रोफाइनान्सको सेयर मूल्य १ रुपैयाँले बढ्यो । 

बाँकी सबै कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट आयो । 

सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लाग्यो । 

यस्तै, अन्य ७ कम्पनीको सेयर मूल्यमा समेत नेगेटिभ सर्किट लाग्यो । 

मिथिला लघुवित्त, नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, मेरो माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घटेको हो ।