काठमाण्डौ । कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बुधबारको बजार बन्द गरिएको छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेको ५० औं दिनको दिन मंगलबारदेखि सेयर कारोबार सुचारु गरिएको थियो । मंगलबारको भन्दा बुधबारको अवस्था झनै भयावह भई बजार ३९ मिनेटमै नेगेटिभ सर्किट लागी बन्द हुन पुगेको हो । 

यो दिन नेप्से परिसूचक २४.५८ अंकले घट्दै १२०१.५७ विन्दूमा सीमित हुन पुगेको छ । 

बजारमा तीव्र पहिरो गएर थोरै समय चलेको कारोबार ७४ कम्पनीका १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ मा किनबेच भयो। 

यो दिन पनि मंगलबार झै सबै समूहको उपसूचकमा पहिरो गयो । 

बैंकिङ समूह २.४ प्रतिशतले घटेको दिन व्यापार समूहमा १.६६ प्रतिशत, होटेल्समा ०.२२ प्रतिशत, विकास बैंक समूहमा ०.४७, जलविद्युत समूहमा १.९६, बित्त समूहमा ०.५७, निर्जीवन बिमा समूहमा १.१, उत्पादन तथा प्रशोधन समूहमा १.४१, अन्य समूहमा २.८४, लघुवित्त समूहमा १.१८, जीवन बिमा समूहमा १.९६ प्रतिशतको गिरावट आयो । 

अघिल्लो दिन झै यो दिन कुनै पनि कम्पनीको सेयर मूल्य बढेन, बरु सबैजसोमा पहिरो गयो । 

लक्ष्मी बैंक, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानीकोष, जनउत्थान सामुदायिक लघुवित्त, नाडेप लघुवित्त, हिमालयन डिस्टीलरी, नेपाल टेलिकम, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक, शिवम सिमेन्ट लगायतका दर्जनौ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यीसहित ५६ कम्पनीको मूल्य २ प्रतिशतदेखि ३ प्रतिशतसम्म घट्न पुग्यो ।