काठमाण्डौ । लगातार बढिरहेको बजारमा आज मंगलबार सामान्य करेक्सन आएको छ। 

बजारमा करेक्सन आउँदा आज परिसूचक ५.५७ अंकले घटेर २३.२६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले घटेर ४४२.८२ को विन्दुमा समेटिएको छ। 

बजारमा करेक्सन आए पनि कारोबार रकम हिजोको तुलनामा बढेर झन्डै साढे ७ अर्ब रुपैयाँ पुगेको छ। हिजो कारोबार रकम सवा ६ अर्ब रुपैयाँ बढी रहेको थियो। 

लगातार दुई सातादेखि बढिरहेको बजारमा अल्पकालीन लगानीकर्ताहरु हावी हुँदा आज सामान्य करेक्सन आएको बजार पण्डितहरु बताउँछन्। अल्पकालीन लगानीकर्ताहरुले बढ्दो बजारमा प्रफिट बुक गर्न धमाधम सेयर बेच्दा परिसूचक सामान्य रुपमा तल झरेको उनीहरुको ठम्याइ छ।

आज करेक्सन आए पनि कारोबार रकम बढ्नुले भविष्यमा बजार बढ्नलाई थप टेवा पुग्ने पनि विश्लेषकहरु बताउँछन्। ‘आजको करेक्सन स्वाभाविक हो किनकि निरन्तर बढेको बजारमा करेक्सन हुनैपर्छ, यसले बजार झन दह्रो हुन्छ’, बजार विश्लेषक गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘बजारमा सेयर किन्ने अवसर यतिबेला नै हो।’ 

लगानीकर्ताहरु विशेषगरी आज बीमा समूह र अन्य समूहका कम्पनीहरुमा झुम्मिएको देखिए। आकर्षक लाभांश, घट्दो ब्याजदरले बजारमा सेयर कारोबारलाई बढावा दिइरहेको घिमिरेको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ५३५.६७ अंकले उकालो लागेको छ। व्यापार समूह ३९.६२ अंकले बढेको आज वित्त समूहमा ३७.२२ अंकको बढोत्तरी आएको छ।

आज निर्जीवन बीमा समूह सबैभन्दा बढी १२४.८९ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ३९.१४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ८.०६ अंक, होटेल्स समूहमा २६.३८ अंक, विकास बैंक समूहमा २४.९४ अंक, जलविद्युत् समूहमा ८.१४ अंक, अन्य समूहमा २८.१३ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९१ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६२ लाख रुपैयाँ, नेपाल टेलिकमको २९ करोड ९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २३ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १७ करोड ३३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १३ करोड ७३ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ३३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको ११ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन प्रोग्रेसिभ फाइनान्स र नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट, जानकी फाइनान्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सर्पोट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो संस्थाको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।