काठमाण्डौ । दोहोरो अंकको करेक्सन आएको आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ।

सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ कारोबार भएको हो। यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो।

यसअघि गत आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बढी कारोबार गरेको सर्वाधिक रेकर्ड कायम थियो।

दोस्रो बजारमा हाल करिब ५ लाख सक्रिय लगानीकर्ता रहेकोमा ३ लाख ५४ जनाले अनलाइनमार्फत सेयर किनबेच गर्र्दै आइरहेका छन्। अनलाइनबाट सहज ढंगले सेयर कारोबार भइरहेकाले समेत दैनिक कारोबार रकम उल्लेख्य बढिरहेको बताइन्छ।

आज बजारमा भने दोहोरो अंकको करेक्सन आएको छ। आज परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ को विन्दुमा झरेको छ।