-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अहिले सेयरबजारमा धेरैले सोध्छन के अहिले लगानी गर्ने सही समय हो ? कतै अहिलेको लगानीबाट डूबिन्न ? डुब्नलाई तलाउ नै गहिरो हुनुपर्छ । अहिले सेयरबजारको तलाउ कति  गहिरो होला ? सहज जबाफ हो अहिले घूँडा माथिको पानी अलिकति बढेर कम्मर कम्मरसम्म आएको मात्रै हो । पूरै घाँटी  घाँटीसम्म आएको अवस्था भने होइन । यदी कम्मर कम्मरसम्म मात्रै पानी छ भने अहिले नै कसरी डुबिन्छ त ? पौडी खेलेर मज्जा लिन त केही गहिरो तलाउ पनि चाहियो नि । यथार्थमा यो समय भनेको सेयर बजारको रहस्यमयी तलाउमा नयाँका लागि पौडी खेल्न सिक्ने समय हो भने पुरानाले भने छलाङ मार्ने । 

अहिले सामाजिक सञ्जालमा अर्को रोमाञ्चक सवालजवाफ पाइन्छ बाणिज्य बैकलाई कसरी मूल्य र सूचकमा फाइनान्सले जिते ? यो प्रश्न निकै महत्वपूर्ण छ । सामाजिक सञ्जालमै एक लगानीकर्ताले यही प्रश्नको जबाफमा लेखेका छन्, ‘कुखुरोभन्दा अण्डा महँगो, सायद खेलाडीको खेलले हुनसक्छ।’ 

अर्का लगानीकर्ता उपेन्द्र सिग्देलले लेखेका छन्-'गोर्खाज फाइनान्सले एभरेष्ट बैंकलाइ कसरी उछिन्यो ? अब त गोर्खाज फाइनान्सले पो एभरेष्ट बैंकलाई अक्वायर गर्ने होला ! सेयर बजारमा यही दिन देख्न बाँकी थियो, देखियो ।’ 

अर्का लगानीकर्ता सुरज पाण्डे लेख्छन्, ‘सेयर बजारमा एउटा भनाई छ पृथ्वी घुमिरहन्छ, त्यसैले दिन सबैको आउँछ, मात्र कुर्न सक्नुपर्छ ।’  

केही लगानीकर्ताले बैंकको सेयर आपूर्ति बढी भएर खेलाडीले खेलाउन नसक्दा मूल्य भनेजस्तो बढ्न नसकेको दाबी पनि गरिरहेका छन् । 

अघिल्लो बुलमा सेयरबजारमा कसैले आफूसँग एभरेष्ट बैंकको सेयर छ भन्दैमा पनि ठूलै गर्वको विषय हुन्थ्यो, किनभने त्यसबेला सो कम्पनीको मूल्यले आकाश छोएको थियो । सेयरबजारमा एभरेष्ट बैंकको सेयर प्रतिकित्ता ३६०० रुपैयाँमा राम्रै कारोबार भएको थियो । जसको आजको दिनको मूल्य ७०० हाराहारीमा मात्र छ ।  

यति मात्रै होइन देशका गनिएका बैंक एनआइसी एसिया तथा नवील बैंकको सेयरमूल्य पनि अझै धेरै अण्डरभ्यालुमा नै छन् । 

यहाँनेर अर्को अचम्मलाग्दो विषय के छ भने  नारायणी नेसनल डेभलपमेन्ट बैंक, जसको प्रतिसेयर आम्दानी नै माइनस ४ रुपियाँ र नेटवर्थ पनि माइनस ३६ रुपियाँ छ, यसको सेयर दोस्रो बजारमा ७७० रुपियाँमा कारोबार भएको छ । जब कि मुक्तिनाथ बिकास बैंक, जसको प्रतिशेयर आम्दानी २७.८७ रुपियाँ र नेटवर्थ १३८.४८ रुपियाँ छ, यो कम्पनीको सेयरमूल्य भने ५६६ मै सीमित छ । 

सेयर बजारका जानकार गोबिन्दप्रसाद घिमिरेको भनाईमा यस्तो हुनुमा ती कम्पनीको सेयरको आपूर्ति कम हुनु हो र यहाँ माग र आपूर्तिको नियमले काम गरेको हुनसक्छ । 

अर्का लगानीकर्ताले नाम उल्लेख नगर्ने शर्तमा ठोकुवा गरेरै भन्छन् यो खुलेआम कर्नरिङको परिणाम हो । सेयर बजारमा यस्तो अक्सर हुन्छ । धातु आखिर सुन र पित्तल दुबै पहेँलो नै हुन्छ । सेयरबजारमा  हरेक बुलमा लगानीकर्ताले धातुको रङ मात्र हेरेर लगानी गर्दा र नक्कली तथा सक्कली नछुट्याउँदा सेयरको मूल्यमा यस्तै आश्चर्यजनक परिवर्तन तथा अनौठा अन्तरहरु देख्न सकिने जानकार बताउँछन् ।

सायद यस्तै प्रवृतिका कारण हुनुपर्छ नेपालको सेयर बजारमा बिहीबारसम्मा वित्त समूहको उपसूचकले बैंकिंग समूहलाई समेत पछाडि पारिसकेको छ । बिहीबारसम्ममा वित्त समूहको उपसूचक १९४२.५२ विन्दूमा पुगिसकेको छ । जबकि बैंकिंग समूहको उपसूचक भने १९०० कै हाराहारीमा फनफनी घुमिरहेको छ । 

निश्कर्षमा लगानीकर्ताले बुझ्नु पर्ने के छ भने अहिले सेयरबजारमा केही कम्पनीमा पानी कम्मर कम्मरसम्म आए पनि केहीमा भने घाँटी घाँटीसम्म नै आइसकेको छ । यस्तो अवस्थामा सचेत भएर लगानीको निर्णय लिनुपर्छ । सेयर बजारमा फाइदै मात्र हुन्न, घाटा पनि हुन्छ र जोखिम पनि उत्तिकै हुने गर्छ ।

हामीले केही वाणिज्य बैंक, केही विकास बैंक र फाइनान्स कम्पनीका सेयरमूल्यबीचको अन्तर उदाहरणका लागि टेबलमा प्रस्तुत गरेका छौं: