काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार फेरि ओरालो लागेको छ।

लगातार घटेको बजार हिजो पुनः लयमा फर्किए पनि आज फेरि ओरालो लागेको हो। आज नेप्से परिसूचक ५३.८८ अंकले घटेर २८५९.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.५३ अंकले घटेर ५२८.८२ को विन्दुमा समेटिएको छ। हिजोको तुलनामा कारोबार रकम पनि घटेर सवा ८ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको घटाइले बजारमा अझै केही दिन करेक्सन आउने सक्ने देखिएको बताउँछन्। ‘बजार उच्चतम विन्दुमा पुगेको थियो, सैद्धान्तिक हिसाबले करेक्सन पूरा भएको थिएन तर हिजो बजार बढ्यो’, उनले भने, ‘त्यसैले आज पनि बजारमा करेक्सन आयो।’

अब मौद्रिक नीति नआउन्जेलसम्म बजार १००–१५० अंकले तलमाथि भइरहने घिमिरेको भनाइ छ। ‘बजारको करेक्सन प्राकृतिक नै देखिन्छ’, उनले भने, ‘यो महिनामा बैंकको ब्याज तिर्नुपर्ने बेला भएकोले बजार केही प्रभावित हुन्छ।’

बजारमा केही लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बसेको पनि देखिन्छ। ‘त्यसैले बजारमा करेक्सन आउनु स्वाभाविक नै हो’, उनले भने, ‘केही समयपछि बजार पुनः लयमा फर्किन्छ।’

सक्रिय लगानीकर्ता रोहन कार्की पनि आजको घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारमा करेक्सन पुगेको थिएन, भोलि पनि केही करेक्सन आउन सक्छ’, उनले भने, ‘आत्तिनुपर्ने अवस्था नै छैन, केही समयपछि बजार फेरि लयमा फर्किन्छ।’

बजारमा लगातार करेक्सन आउँदा साना र नयाँ लगानीकर्ताहरु आत्तिएजस्तो देखिएको कार्की बताउँछन्। ‘बजार बढ्नेमात्र होइन घट्नु पनि पर्छ र करेक्सनले बजार थप मजबुत हुन्छ भन्ने बुझ्नुपर्यो’, उनले भने, ‘जसरी अहिले बजार तल आइरहेको छ, त्यसरी नै माथि जाने निश्चित छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ३.६९ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.०५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.६९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २ प्रतिशत, जलविद्युत समूहमा २.३३ प्रतिशत, लगानी समूहमा ०.९१ प्रतिशत, जीवन बीमा समूहमा २.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९० प्रतिशत, लघुवित्त समूहमा २.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१९ प्रतिशत, अन्य समूहमा १.६९ प्रतिशत र व्यापार समूहमा २.१३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८०.५० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ४२ करोड रुपैयाँबराबरको कारोबार भएको आज राधी विद्युतको ३८ करोड ४१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३३ करोड ८९ लाख रुपैयाँ, एचआईडीसीएलको ३० करोड ३१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ९४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ७२ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ४० लाख रुपैयाँ, ज्योति विकास बैंकको १२ करोड ९३ लाख रुपैयाँ र नबिल बैंकको १२ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज राधी विद्युत कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। ङादी ग्रुप पावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज कालिका पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा पनि ५ प्रतिशत बढीको गिरावट आएको छ।